Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्तो हुनुपर्छ अबको नेविसंघ

चार दशकभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ आफैँमा एउटा इतिहास हो । यसको स्थापना यस्तो समयमा भएको थियो, जति बेला जनताका वाक् स्वतन्त्रता खोसिएको थियो र शान्तिपूर्ण आन्दोलन गर्न र सङ्गठित हुन प्रतिबन्ध लगाइएको थियो ।प्रतिकूल अवस्थामा मुलुकको भविष्यका कर्णधारलाई लोकतन्त्र र नागरिक अधिकारको लडाइँमा गोलबद्ध गराउने उद्देश्यले नेविसंघको स्थापनामा भएको हो ।तत्कालीन काँग्रेस सभापति बिपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा वैचारिक हिसाबले बहस र पैरवी गरी लोकतन्त्रको वास्तविक व्याख्या गर्ने र त्यसलाई सबै जनताका दिमागमा घुसाउने उद्देश्यले यो सङ्गठनको स्थापना गरिएको थियो ।

तत्कालीन पञ्चायती शासकले राजनीतिक गतिविधि बन्द गरेको अवस्थामा आन्दोलनलाई जरैदेखि मजबुत गराउनु पनि नेविसंघ स्थापनाको उद्देश्य थियो । संघको पहिलो नेतृत्वकर्ताको जिम्मेवारी विपिन कोइरालाले पाएका हुन् । वाक् कला भएका विपिनको नेतृत्वमा देशभरका स्कुल र क्याम्पसहरूमा नेविसंघ मार्फत लोकतन्त्रको बीउ रोप्ने योजना बिपीको थियो, जुन उद्देश्यमा बिपी सफल भए ।२०३३ सालको बिपीको भारत प्रवास छोडेर नेपाल फर्कने अभियानदेखि २०३६ सालको जनमत संग्रहमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण देखियो । २०३६ सालको जनमत संग्रहको मुख्य प्रचार-प्रसारको जिम्मा नेविसंघकै काँधमा थियो । त्यसपछिका पनि सबैजसो आन्दोलनको अग्रपंक्तिमा नेविसंघ देखिँदै आएको छ । २०४२ सालको सत्याग्रह होस् वा २०४६ सालको जनआन्दोलन ।

संघको स्थापना मूलतः दुई उद्देश्यले भएको थियो । पहिलो लोकतान्त्रिक आन्दोलन चर्काउने र दोस्रो लोकतन्त्रको वैचारिक बहस गरेर देशभर त्यसको बीउ रोप्ने । तर संघको चार दशकको इतिहास हेर्ने हो भने यो सङ्गठन पहिलो उद्देश्यमा केही सफल देखिए पनि लोकतान्त्रिक पद्धति स्विकारेर वैचारिक बहसको थलो बन्नबाट भने चुकेको छ । 

विद्यार्थी संगठनमा लाग्नेहरू मुलुकको राजनीतिक, सामाजिक, आर्थिकलगायतका विविध आयाममा स्पष्ट र ज्ञानगत हिसाबले भरिपूर्ण हुनुपर्ने हो । बिपीले विद्यार्थी संघठन बनाउने यसलाई पनि मुख्य उद्देश्य राखेका थिए । तर अहिले अधिकांशले नेविसंघ वा अन्य राजनीतिक दलका विद्यार्थी सङ्गठन भनेको नपढ्ने वा पढ्न कमजोर विद्यार्थीको क्लबका रूपमा हेर्ने गरिएको छ । कुनै पनि मेधावी विद्यार्थी सङ्घ वा अन्य विद्यार्थी सङ्गठनको छाताभित्र किन अटाउन सकेको छैन ? अबको बहस यस विषयमा केन्द्रित हुन जरुरी छ । संघले आफ्नो महाधिवेशनबाट यो प्रश्नको जवाफ खोज्नुपर्छ ।

विश्वका प्रसिद्ध विश्वविद्यालयहरूको विद्यार्थी युनियनका नेता विश्वमा कुनै न कुनै भूमिका अग्रणी स्थानमा छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनकी अध्यक्ष एरिना हफिङ्टन अहिले विश्वकै प्रभावशाली महिलाको सूचीमा छिन् । हफिङ्टन पोस्ट्की कोफाउन्डर एवं प्रधान–सम्पादक एरिना क्याम्ब्रिज विश्वविद्यालयको 'द क्याम्ब्रिज युनियन' की अध्यक्ष थिइन् । उनले आफू उक्त युनियनको अध्यक्ष हुँदा विभिन्न विषयमा बहस चलाएर चर्चा कमाएकी थिइन् । उनले चलाएका बहसले विश्वभर प्रभाव जमाएको थियो ।

तर नेपालमा के विद्यार्थी संगठनले जल्दा बल्दा मुद्दामा बहस चलाउन सक्दैन ? वैचारिक रूपमा विद्यार्थीलाई तिखार्ने विद्यार्थी सङ्गठनको मुख्य दायित्व हो । तर संघ लगायतका यस्ता विद्यार्थी सङ्गठन अहिले यो महत्त्वपूर्ण दायित्वबाट चुकेका छन् । नेविसंघ मात्रै होइन, कुनै पनि राजनीतिक दलका विद्यार्थी सङ्गठनको व्यवस्थापन उदेकलाग्दो देखिन्छ । उनीहरूको कार्यालय ८० को दशकमा हिन्दी चलचित्रमा देखाइने मजदुरको होस्टेलजस्तो छ ।

विद्यार्थी सङ्गठनको कार्यालयमा त विश्वका चर्चित शिक्षाविद्को फोटो, उनीहरूका मुख्य भनाइ भित्तामा लेखिएका हुनुपर्ने हो । त्यसका साथै नेपाल र विश्वमा भइरहेको पछिल्लो वैचारिक बहसका विषयमा दिनदिनै छलफल भइरहेको हुनुपर्ने हो । तर कतिपय विद्यार्थी नेताहरू आफ्नै दलको वैचारिक लाइनमा समेत स्पष्ट देखिँदैनन् । नेविसंघकै प्रसङ्गमा कुरा गर्दा के यसका नेता तथा कार्यकर्ताले लोकतान्त्रिक संस्कार र चरित्रलाई आफूमा लागू गरेका छन् त ? बिपी कोइरालाले भनेजस्तै प्रजातान्त्रिक समाजवाद उनीहरूको मनमस्तिष्कमा गढेको छ त ? के उनीहरू आफ्नो जीवनशैलीलाई समाजवादको आँखाबाट हेरेर परिवर्तन गरेका छन् त ? अबको बहस यस बढाउनुपर्छ । त्यसले मात्रै मुलुकमा राजनीतिक शुद्धीकरणको अभियानमा नेविसंघ एउटा हिस्सा बन्न सक्छ अहिले मुलुक नयाँ संविधान कार्यान्वयनको चरणमा छ । 

नयाँ संविधानअनुसार मुलुकको सबै क्षेत्र पुनर्संरचना हुने प्रक्रियामा छ । यस्ता महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका विषयमा नेविसंघको भूमिका कहाँ छ त ? जनताको व्यक्तिगत जीवनसँग जोडिएका विषयलाई बौद्धिक बहसको छातामुनि ल्याउने दायित्व संघको होइन र ? स्कुल, क्याम्पस हुँदै जिल्ला–जिल्लामा फैलिएको उसको संगठनले यस्तो बहसलाई अभियानको रूपमा अघि बढाउने हो भने अहिले देखिएको कतिपय विषयको अलमल र अस्पष्टता धेरै हदसम्म अन्त्य हुन्छ ।

त्यसैले पनि अबको संघले पुतलीसडक, रत्नपार्क र प्रदर्शनी मार्गको सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि नेविसंघ र अन्य विद्यार्थी सङ्गठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ । विद्यार्थी सङ्गठनको नेतृत्व भनेको प्राज्ञिक क्षेत्रको पनि नेतृत्व हो ।

त्यसले पनि उसमा समसामयिक विषयमा आफ्नो भिजन दिन सक्ने क्षमता हुनुपर्छ । नेतृत्व चयन प्रक्रियामा रहेको नेविसंघले पनि आफ्ना नेता चयन गर्दा कसको मान्छे भन्ने होइन, कस्तो मान्छे भनेर सोच्न आवश्यक छ । नेताको नजिक टाढा भएकोलाई नेतृत्व चयनको आधार मान्ने हो भने नेविसंघ बिस्तारै असान्दर्भिक सङ्गठनको रूपमा हराउँदै जान सक्छ ।

लेखक नेपाल विद्यार्थी सङ्घ रुकुम पश्चिमका सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका उपसभापति एवं स्ववियु सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update