रुकुम पश्चिमको बाँफिकोट वडा नम्बर २ मा रहेको मेलगैरी कृषि सहकारी संस्थाले आफ्नो ८ औं साधारण सभा सम्पन्न गरेको छ। वडाको मेलगैरी सहिद स्मृति पार्कमा संस्थाले साधारण सभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष लालबहादुर केसीले आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सहकारीकी कोषाध्यक्ष लक्ष्मी जैसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जैसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीले एक वर्षमा १५ लाख ४१ हजार ६ सय २० रुपैयाँ आम्दानी गरेको छ । सहकारीले ब्याज, निवेदन, प्रवेश शुल्क, पास बुक तथा हर्जना लगायतका शिर्षकमा आम्दानी गरेको हो । त्यस्तै सहकारीले विभिन्न शीर्षकमा दश लाख ६४ हजार ६ सय ९१ रुपैयाँ खर्च गरेको छ । भने सहकारीको चार लाख ७६ हजार नौ सय २९ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीको कुल सम्पति एक करोड १२ लाख १४ हजार पाँच सय १७ रुपैयाँ रहेको छ । सहकारीमा तीन लाख ९५ हजार सात सय ४० रुपैयाँ नगद मौज्दात छ । भने सहकारी मार्फत ८९ लाख ६६ हजार पाँच सय ९३ रुपैयाँ कर्जा लगानी गरिएकाे कोषाध्यक्ष जैसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७२ सालमा स्थापना भएको सहकारीमा पुरुष एक सय १४ र महिला दुई सय ६४ गरी कुल तीन सय ७८ जना शेयर सदस्य रहेका छ्न्।
सहकारीका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको साधारण सभामा बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको प्रमुख तथा पूर्व गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो । यस्तै ३ नम्बर वडाका पूर्व वडा अध्यक्ष चन्द्रबहादुर केसी, २ नम्बर वडाका पूर्व वडा अध्यक्ष धनबहादुर खत्री, १ नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, २ नम्बर वडाका वडा सदस्य द्वय हातिराम बस्नेत र सुनपा दमाई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक सुरक्षाकर्मी लगायतको आतिथ्यता रहेको थियो । सञ्चालक समिति सदस्य देउसरा केसीले स्वागत मन्तव्य राखेकाे साधारण सभाको सञ्चालन सहकारीका सचिव तेजेन्द्र खत्री गर्नुभएको थियो।