नेपाली काँग्रेसका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले वाइडवडी प्रकरणमा आफू माथि राजनीतिक प्रतिसोध साँधिएको बताउनुभएको छ ।
प्रेस युनियन रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजनीतिक प्रतिसोध साँधेर आफ्नो कुनै कमजोरी नहुँदा पनि अनावश्यक रूपमा नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडवडी जहाज प्रकरणमा जोडेको उहाँले बताउनुभयो ।
‘म अघिल्लो पटक नेपाली काँग्रेसका तर्फबाट कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचित हुने एक मात्र सांसद भएको, कर्णालीमा मेरो राम्रो अवस्था देखेर मेरो राजनीतिक जीवन सकाउन म प्रति राजनीतिक प्रतिसोध राखिएको हो, यसमा मैले सफाइ पाइसकेको छु, यो प्रकरणमा मेरो कुनै संलग्नता थिएन, उहाँले भन्नुभयो ।’
वाइडवडी खरिद गर्ने निर्णय देखि खरिद गर्दासम्म ४ जना मन्त्री भएको र मन्त्रालयका सचिव हाल अख्तियारको प्रमुख रहेकामा आफू बाहेक अन्य कसैलाई पनि यो प्रकरणमा अनुसन्धान नगर्नु आफू माथिको राजनीतिक प्रतिसोधको प्रमाण भएको उहाँले बताउनुभयो ।
आफू मन्त्री भएका बेला ५० हजार भन्दा माथिको डलर सटहीका लागि सिफारिस बाहेक अन्य कुनै निर्णय नभएको र उक्त निर्णय पनि अर्थ मन्त्रालयमा गएर कार्यान्वयन नभएकोले आफू वाइडवडी खरिदमा कतै नजोडिएको र अहिले आएर अदालतले पनि त्यसलाई पुष्टि गरेको उहाँको भनाई थियो । अन्तर्राष्ट्रिय हवाई माफियाहरू लागेर नेपाल वायु सेवा निगमलाई सकाउने खेल भइरहेको र आफू त्यसैको सिकार भएको उहाँले दाबी पनि गर्नुभयो ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेता शाहीले कर्णालीको विकासको नेतृत्व काँग्रेसले गरिरहेको दाबी गर्नुभयो । कर्णालीमा बलियो रहेको काँग्रेस २०७४ मा केही कमजोर देखिएको र हाल आएर काँग्रेस पुनः बलियो र पहिलो शक्ति भएको उल्लेख गर्दै उहाँले काँग्रेस कर्णालीवासीको समृद्धिका लागि क्रियाशील रहेको बताउनुभयो ।
काँग्रेस जनताको पार्टी भएकोले जनताका समस्या, गुनासा सुन्दै जनताका आवश्यकताहरू पूरा गर्न तर्फ गम्भीर रहेको उहाँको भनाई थियो । वाइडवडी प्रकरणमा सफाइ पाएपछि तपाईँको जिल्ला दौडाहा किन भन्ने पत्रकारको प्रश्नमा उहाँले पार्टी कार्यकर्ता, नेता र जनताको मायाले आफू विभिन्न ठाउँ पुगिरहेको र यसमा आफ्नो कुनै स्वार्थ नरहेको तथा जनताले माया गरेर बोलाइरहेको बताउनुभयो ।
यसैबिच उहाँले भूकम्प प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सत्ता साझेदार दलका हैसियतले नेपाली काँग्रेस गम्भीर हुनुपर्यो भनेर आफूले समेत आवाज उठाइरहेको उहाँले बताउनुभयो । पुनर्निर्माण कार्यविधि पास भएको जानकारी आफूले पाएको र अब छिट्टै पुनर्निर्माण सुरु हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँको उपस्थितिमा नेपाली काँग्रेस रुकुम पश्चिमले शनिवार जिल्लाको आठबिसकोट नगरपालिकाको राडीमा आम सभा आयोजना गरेको थियो । आज जिल्ला सदरमुकाममा पार्टी कार्यकर्ताहरूसँग भेटघाट लगायतका कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ । पूर्व मुख्यमन्त्री शाहीले जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षा निकाय लगायतसँग पनि भेटघाट तथा छलफल गर्नुभएको छ ।