Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम तथा नियन्त्रणमा रुकुम पूर्वका शिक्षक, कर्मचारीले एक दिनकाे तलब, भत्ता योगदान गर्ने

रुकुम पूर्वका शिक्षक तथा कर्मचारीले कोरोना महामारीमा सहयोग गर्ने भएका छन् । राज्य कोषबाट तलब, भत्ता खाने विद्यालयका शिक्षक, कर्मचारीले कोरोना महामारीमा सहयोग गर्नका लागि नगद योगदान गर्ने भएका हुन् । नेपाल शिक्षक महासंघको बैठकले सबैले एक दिनको तलब,भत्ता कोरोना महामारीमा योगदान गर्ने निर्णय गरेको छ । जिल्लाका तीन वटै स्थानीय तहका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले एक दिनको तलब,भत्ता योगदान गर्ने र त्यसैबाट कोरोना महामारी रोकथाम, नियन्त्रणमा सहयोग गर्ने निर्णय भएको हो ।

महासंघका अध्यक्ष कलु खड्काले राज्य कोषबाट तलब, भत्ता खाने सबै शिक्षक तथा कर्मचारीको तलब भत्ता महासंघको खातामा जम्मा गर्ने र त्यसैबाट एन्टिजेन किट, अक्सिमिटर, मास्क, स्यानीटाइजर खरिद गरेर स्थानीय तहलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसका साथै स्थानीय रेडियोहरुबाट जनचेतनामूलक सन्देश प्रवाह, प्रचा, पम्पलेटबाट पनि महामारी रोकथाममा सघाउने निर्णय भएको अध्यक्ष खड्काले बताउनुभयो ।

विद्यालयका शिक्षक तथा कर्मचारीले जो जहाँ छ त्यहीँबाट आफू सुरक्षित रहेर स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सहयोग पुर्याउने निर्णय पनि बैठकले गरेको छ । शिक्षक तथा कर्मचारीको तर्फबाट पनि सानो सहयोग होस् भनेर यो निर्णय गरेको अध्यक्ष खड्काले बताउनुभयो । राज्य कोषबाट तलब, भत्ता खाने सबै विद्यालयका सबै शिक्षक तथा कर्मचारीले एक दिनको तलब, भत्ता योगदान गर्दा ५ लाख बढी रकम जम्मा हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update