सुदूरपश्चिम नेपालको पश्चिमी भौगोलिक विविधतामा सजिएको स्वर्गको अनुभूति गराउने मनमोहक ठाउँ हो । जहाँ अनगिन्ती प्राकृतिक सौन्दर्यताका धरोहर रहेका छन् । म यही प्रकृतिको सुन्दरताको स्वर्गीय आनन्द लुटेर हुर्केको एउटा गरिब भरिया नागरिक हु। मलाई यही प्रकृतिले आफ्नो अँगालोमा बाँधेर मलाई खाडीको घामबाट जोगायो । म सधैँ झैँ आज पनि आफ्नै नित्यकर्ममा लागे मैले भिर बाटोको उकालो काटेपछि । आफ्नो थकित शरीरलाई बरको छेउमा राखेर शीतलताको अनुभूति लिन थाले । म बरको शीतलता सँगै निन्द्रामा परेछु।
दुर्गम सुदूर दुर्गम सुदूर भनिरहँदा मेरा विचार पिँडालुको पातमा परेका पानीका थोपा जस्तै पोखिन्छन् ।दुर्गम सुदूर भन्दा मस्तिष्क मा एकाएक तरङ्ग आउँछन् । प्रकृतिले ममाथि प्रश्न वाचक चिन्ह खडा गर्छ को हौ तिमी मलाई दुर्गम साबित गर्ने । भन मैले तिमीलाई के कुराको अभाव हुन दिएको छु । दुर्गम त त्यो हो जहाँ सहरीकरण औद्योगीकरणको बहानामा मैले सित्तैमा दिएको अक्सिजनको अभाव भई घाटीको क्यान्सर जस्ता रोग को पीडित हुनुपरेको छ ।तिम्रा भौतिक शरीर मा मेरा स्पर्श अझै बाँकी छन् ।
तिमीले मलाइ हेरि मेरै अगाडि तोते आवाज निकालेका थियौ । तिम्रा ती तोते आवाज का शब्दहरू मलाई अझै स्मरण छन् तिमी मेरो यही न्यानो काखमा हुर्किएको मेरै वरदान हौ । तिम्रा आँखामा खस्दा जसरी मरुभूमि मा पानीका थोपाहरू बिलाएर जान्छन् त्यसरी नै तिम्रा आँखाबाट खसेका आँसुलाई वाष्प बनाई उडाइदिए अनि तिम्रा ओठमा मिठो मुस्कान छरी दिए र तिमी सङ्गै मुस्कुराए अनि को हौ तिमी । को हौ मलाइ दुर्गम साबित गर्ने भन ममा के कुराको कमी छ र मलाई दुर्गम साबित गर्यो म एकाएक झस्किए र त्यो प्रकृतिले लिएको आनन्दको निन्द्राबाट झसङ्ग ब्युँझिएँ
मैले एक घुट्की पानीको साथमा फेरि साइपालको क्षितिज सँग जोडिएका ती चम्किला चुलीहरूको सौन्दर्ययता नियाले जसले सुदूरका सौन्दर्ययताको न्यानो स्पर्श गराइदियो सुसेली मार्दै निकै बगेका सात वरका हाँगाहरू हल्लिए र केही पातहरू छुट्टिएर जमिनतिर लागे । आफ्नो अस्तित्व बिना वेग मार्दा जहिले पनि पछाडि पर्ने रहेछन् बरका हाँगाबाट छुटेको एउटा पातले मेरो देब्रे हातमा हान्दै समयको बोध गरायो समयले मलाई प्रकृतिको काखमा छोडेर समेत आफ्नो अस्तित्व कायम गरी एक एक हिँडेछ ।
मैले ती र रुखमा रहेका वरका पातलाई एकोहोरो नियाल्दै भने-तैँले मलाई समय त बोध गराइस् भन त युवाहरूलाई किन दिन प्रतिदिन बिदाइ गरी रहेको छस् । केही समय अगाडी मलाई पनि तैँले मेरी बुढी आमालाई आफ्नो छेउमा राखेर आमाका आँखाबाट मेरो बिदाइका लागि खसेका आशुलाई बाष्प बनाई आफ्नो इसाराले आमाको पछ्यौरी सँगै आफ्ना चिल्ला पातहरू हल्लाउँदै बिदाइ गरेको छस् है । त यति धनी र प्राकृतिक सौन्दर्ययताको मालिक हुँदा पनि तैँले साइपालको निम्तो स्वीकार गरी आएका पर्यटकको थकान शीतलताको स्पर्श दिइस् ती खैरेको मन जितिस् खैरेका अनुहारमा चमक दिइस् तर बुढा बुबा आमालाई प्रतीक्षा स्वरूप आफ्नो काखमा राखिस् खै कोले बुझिदिने सन्तानको प्रतीक्षामा पिरोलिएको आमाको मनलाई अनि तेरो अक्सिजन अङ्ग अङ्गमा स्पर्श गरिरहेका युवाहरूलाई विडम्बना स्वरूप बिदाइ नै गरिस् बिदाइ नै ! म वरका पातलाई हेर्दाहेर्दै एकाएक झस्किए ।
समय एकाएक मलाई त्यही बरको छेउमा छोडेर हिँडिरह्यो । सूर्य का ती मधुरा किरण सैपालको चुलीमा मोती जस्तै चम्किरहेका थिए । मेरो मनलाई अनेकौँ प्रश्नले चौतारी बनाउँदै गयो । चराहरूले खुला आकाश छोडिसकेका थिए । बिस्तारै बेलुका ७-बजेको समाचार गुन्जियो समाचारको पहिलो शीर्षक थियो दुर्गम सुदूरपश्चिममा स्वास्थ्य र शिक्षामा असहजता भन्दै विविध कारणले समाचार बन्द भयो । फेरि मलाई बादल बिनाको वर्षमा झरेका ती वर्षका थोपा जस्तै जीवनमा नियालेका र घटे का घटना ले मेरो मस्तिष्कलाई घेर्न थाले ।
मैले मेरो स्मरण शक्ति प्राप्त गरे पछि केही घटनाहरू नियालेको थिएँ जब छिमेकी आन्टीलाई सुत्केरी व्यथा लाग्यो अस्पताल लिने क्रममा अस्पताल नपुग्दै भिर बाटोमै उहाँको यातायातको अभावका कारण ज्यान जान पुग्यो अनि जब त्यस्तै मेरी ६० वर्षकी हजुरआमालाई बिरामी हुँदा स्थानीय अस्पताल पुगेका थियौँ । हजुरआमाले टाउको दुख्यो भन्दा अस्पतालमा सिटामोल नै थिएन । अनि मति संविधानका सेतो कागजमा लेखिएका काला अक्षर लाई सम्झिए मलाई सनसनी मच्चियो । नेपाल सरकारले हाल ९८ वटा औषधि निःशुल्क वितरण गर्दा सुदूरका अस्पतालमा सामान्य सिटामोल छैन के यही हो नेपाल को संविधानको भाग ३ को धारा ३४ ।
सुदूरका जनतालाई त आज संविधान नि व्यर्थ बनी सकेछ । अनि कहिले छाउपडी प्रथाले अकालमै मृत्यु त कहिले देउकी र झुमा प्रथाले गर्दा अन्धकार जीवनको आवास गरिरहेका ती सुदूरका युवतिहरू । खै कता छ सुदूरका चेलीको मानव अधिकार आज २१ औँ शताब्दीमा मानिसले मानिस माथि नै प्रश्न वाचक चिन्ह खडा गरिरहेका छन् । यो भन्दा ठुलो सुदूरका जनताको लागि विडम्बना अरू के नै हुनसक्छ । अनि कता भेटिन्छ त स्थानीय सरकार ?
आजभोलि सुदूरका विद्यार्थी का झोला नियाल्दा पाठ्यपुस्तक छैनन् । आज सुदूरमा वर्षौँ लगाएर पाठ्यपुस्तक र सिटामोल पुग्दैन । साईपाल, धुलिकाडाँ जस्ता ठाउँमा खाद्यान्न पुग्दैन । तर हप्तामै मतपत्र पुग्छ । समयमै कर्मचारी र प्रतिनिधि को तलब पुग्छ तर । सामाजिक सुरक्षा भत्ता पाउन दसैँ कुर्नुपर्छ । अनि सुदूरका युवाका सपनाहरू खाडीको बालुवा सँग बहस गरिरहेका छन् । के यही हो सुदूरका जनताको अधिकार । के सुन्दर सुदूरका जनताको अधिकार अझै सुनिश्चित नभएको हो । सुन्दर सुदूर प्राकृतिक दृष्टिकोणले स्वर्ग सँग तुलना गर्न लायक भए पनि भ्रष्टाचार र सुशासनको अभावले दुर्गम सुदूरका जनतालाई निकै कठिनता सामना गर्नुपरेको छ। मैले सुदूरलाई त्यत्तिकै दुर्गम त कहाँ भनेको हु त तपाईँले बुझ्नुभयो होला नि अब त दुर्गम सुदूरका व्यथाहरू ।