रुकुम पूर्वको एउटै वडाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिस्ने गाउँपालिका ३, मा आइतबार गरिएको परीक्षणका क्रममा ५ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सिस्ने गाउँपालिकाले पोखरा स्वास्थ्य चौकीमा बोलाएर ४३ जनामा कोरोना भए नभएको परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा धेरै विरामी छन भन्ने खबरपछि कोरोना भए नभएको परीक्षण गर्न पोखरा गाउँपालिका र जिल्ला अस्पतालको टोली पोखरा पुगेको थियो । संक्रमण पुष्टि भएका सबैमा टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, अल्छी लाग्ने, खोकी लाग्ने समस्या छन् ।
समस्या बढ्दै गएपछि जिल्ला अस्पताल आउन भनिएको संयोजक यादवले बताउनुभयो । सिस्ने गाउँपालिकाले एन्टिजेन किट ल्याएपछि गाउँमै गएर परीक्षण गरेको हो । उक्त वडामा अरु पनि धेरै विरामी छन् । अरु टोलका घरघरै विरामी छन् । उनिहरुका पनि परीक्षण गर्नुपर्ने माग उठेको छ । तर थप परीक्षण गर्न गाउँ जाने कि नजाने निक्र्योल गाउँपालिमा सरसल्लाह भएपछि हुने यादवले बताउनुभयो । यस गाउँपालिकाको १, २ र ४ नम्बर वडामा पनि विरामी रहेको बताइएको छ ।