रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यवसायिक सुन्तला खेती गर्ने किसानको संख्या बढेको छ । पालिकाभर एक सय ३ जना किसानले ब्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले १ सय ९४ मेट्रिकटन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला विक्री भएको छ ।
उहाँका अनुसार पालिकाबाट यस वर्ष सुन्तला वित्रिबाट १ करोड १ लाख ८ हजार ८ सय रुपैयाँ भित्रिएको छ । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहेपनि अधिकांश किसानले सुन्तला विक्री गरिसकेको शाखा प्रमुख पुनले जानकारी दिनुभयो । ब्यवसायिक सुन्ताल खेती गर्ने १ सय ३ जना किसान मध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्याएको ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो आम्दानी गरेका छन् ।
ब्यवसायिक सुन्तला खेती गर्ने प्रत्येक किसानले ४ रोपनी क्षेत्रफल भन्दा बढी जग्गामा सुन्तला खेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा करिव ६ क्विन्टल सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो । पालिकाभर ३ सय २४ रोपनी अर्थात १६ दशमलव २ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । ब्यवसायिक रुपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानहरुले सुन्तला उत्पादन गर्दै आएका छन् ।
सुन्तला खेतीबाट गत वर्षभन्दा यो बर्ष राम्रो आम्दानी भएको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ जुगेपानीका ५२ वर्षिय कृषक चन्द्रबहादुर खड्काले बताउनुभयो । यो सिजनमा सुन्तला विक्रिबाट ७ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको खड्काको भनाई छ । ‘‘सुन्तला विक्रि गर्न समस्या छैन्, सुन्तला खरिद गर्न ब्यापारी घरमै पुग्छन्, घरबाटै ७ लाख ८३ हजार रुपैयाँको सुन्तला बचे’’ खड्काले भन्नुभयो ।
प्रतिकिलो ६२ रुपैयाँ दरले घरबाटै सुन्तला विक्री गरेको उहाँले बताउनुभयो । यस पटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मुल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर खड्काले ब्यवसायिक रुपमा सुन्तला र अलैंची खेती गर्दै आउनुभएको छ ।