जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले क्रिकेट प्राक्टिस नेट तयार पारेको छ । क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्राक्टिस नेट निर्माण गरिएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ । जिल्ला सदरमुकाम खलङ्गास्थित बराहटाकुुरामा नेट राखिएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो ।
जिल्लामा ठुला खेलकुद मैदान नभएकोले क्रिकेट सिक्न समस्या भइरहेको अवस्थामा प्राक्टिस नेट तयार पारिएको उहाँले बताउनुभयो । बराहटाकुरामा अवस्थित कवर्ड हलको छेउमा झन्डै २ लाख खर्चिएर प्राक्टिस नेट राखिएको उहाँको भनाई छ । उहाँका अनुसार जिल्ला क्रिकेट संघ र विभिन्न संस्था तथा व्यक्तिहरूको सहयोगमा नेट तयार पारिएको हो ।
जमिन सम्माउन मुसिकोट नगरपालिकाले सहयोग गरेको थियो भने यती विल्डर्सले बालुवा र गिट्टी, कालिका हार्डवेयरले फलामका पाइप तथा विभिन्न व्यक्तिहरूले सिमेन्ट सहयोग गरेको अध्यक्ष बाँठाले जानकारी दिनुभयो । मिस्त्री ज्याला सहित बाँकी रकम संघबाट खर्च भएको उहाँले बताउनुभयो ।
ढलान गरेर पिच निर्माण गरिएको छ भने वरिपरि फलामका पोल गाडेर जाली राखिएको छ । प्राक्टिस नेट निर्माण गरिएसँगै खेल्न सुरु भइसकेको छ भने केही मात्रामा नेट राख्न बाँकी रहेको कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य समेत रहनुभएका लेभल वान प्रशिक्षक कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।
प्राक्टिस नेटको औपचारिक उद्घाटन गर्न बाँकी रहेको संघले जनाएको छ । प्राक्टिस नेट राखिएसँगै नयाँ खेलाडी उत्पादन गर्न तथा प्रशिक्षण गर्न सहज भएको बताइएको छ । जिल्लामा क्रिकेट मैदान नहुँदा खेलाडी उत्पादन तथा खेल खेलाउन समस्या भइरहेको छ ।
यद्धपि मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सीमा ट्याखोलामा क्रिकेट मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट यो वर्षका लागि ५० लाख बजेट विनियोजन भई कार्यान्वयनको चरणमा रहेको छ ।