आसन्न प्रधानमन्त्री कप महिला क्रिकेटका लागि कर्णाली प्रदेशको छनोट सुरु भएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर सुर्खेतमा छनोट सुरु भएको हो । छनोट कार्यक्रमको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभयो । कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
संघका कोषाध्यक्ष सूर्य थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संघका सदस्य प्रकाश भुसालले गर्नुभएको थियो । छनोटमा सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेखको सहभागिता रहेको छ । बुधवार भएको पहिलो खेलमा सल्यान विजयी भएको छ । सुर्खेतलाई ७ विकेटले पराजित गर्दै सल्यानले विजयी सुरुवात गरेको हो । यस कार्यक्रमबाट प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम निर्माण गरिने संघका सचिव श्रीधर केसीले जानकारी दिनुभयो ।
पिएम कप महिला क्रिकेट प्रतियोगिता माघ १ गते देखि सुदूरपश्चिम प्रदेशको धनगढीस्थित थाप्ला क्रिकेट मैदानमा हुँदै छ । यसैबिच रुकुम पश्चिमले कुनै पनि प्रदेश स्तरका प्रतियोगिता अन्तर्गत महिला तर्फ पहिलो पटक खेलाडी सहभागी गराएको छ । संघले केही समय अघि मात्र महिलाका लागि लक्षित गरेर २ दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
टिम नै सहभागी बनाउन नसके पनि प्रशिक्षण कार्यक्रममा सहभागी मध्येबाट छनोट गरेर ९ जना खेलाडी पहिलो पटक सहभागी गराएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ । प्रदेश छनोट जिल्ला अनुसार भन्दा पनि सहभागी खेलाडीलाई मिसाएर सञ्चालन भइरहेको कर्णाली प्रादेशिक क्रिकेट संघका सचिव केसीले जानकारी दिनुभयो ।
सबै जिल्लाको टिम नभएको र कर्णालीमा महिला खेलाडी उत्पादनको चरणमा रहेकोले जिल्ला जिल्लाको प्रतिस्पर्धा गराउने अवस्था नभएको उहाँको भनाई छ ।