Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पुर्वमा आज २८ जना कोरोना संक्रमित थपिए 

रुकुम पूर्वमा आज एकै दिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिस्ने गाउँपालिकाको वडा नं. ३ पोखरा र जिल्ला अस्पतालमा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा यो अहिले सम्मकै उच्च संक्रमण हो । वडा नं. ३ पोखरामा ४३ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको गाउँपालिका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा लक्षण सहितका विरामीहरु बढेकाले परीक्षण गरिएको हो । त्यहाँ ५ महिला र ११ जना पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य संयोजक यादवले बताउनुभयो । 

संक्रमण पुष्टि भएका अधिकांशमा टाउँको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, अल्छि लाग्ने, खोकी लाग्ने जस्ता समस्याहरु देखा परेका छन । अहिले संक्रमित सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा राखिएको छ । थप समस्या बढ्दै गएमा उपचारका लागि जिल्ला अस्पतालमा आउन भनिएको संयोजक यादवले बताउनुभयो । केहि दिन अघि पोखराका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ति व्यक्तिको सम्पर्कमा आएका र विदेश तथा जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । त्यहाँ प्राय घरमा मानिसहरु विरामी भएका छन ।

यस्तै जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना देखिएको छ । ८ जनाको नमुना परीक्षण गर्दा सिस्ने गाउँपालिका वडा नं. ५, ६ र ७ का ३ महिला र ४ पुरुषमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी डिल्लीबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार १ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्य संक्रमितलाई होम आइसोलेसनमै बस्न सल्लाह दिइएको छ ।

यस्तै भूमे गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ जनामा गरिएको परीक्षणमा १ महिला र ३ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो । जसमा गाउँपालिकामा कार्यरत दुई कर्मचारी रहेका छन् ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा एक जना संक्रमित थपिएका छन् । वडा नम्बर १४ मा तीन जनामा परीक्षण गर्दा २७ वर्षिया महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो । स्वास्थ्य चौकी राङसीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य चौकीलाई एक हप्ता सिल गरिएको गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले बताउनुभयो । 

यससँगै जिल्लामा दोस्रो भेरिएन्ट सुरु भएयता कोरोना संक्रमितको कुल संख्या ८० पुगेको छ । ति मध्ये ७ जना निको भइसक्क छन । अव सक्रिय संक्रमितको संख्या ७३ रहेको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update