जीवन भरी अनेक थरी थरी भेटिन्छन्
जरुरी नहुनेहरू पो घरी घरी भेटिन्छन्
भेटिनु पर्नेहरू कहिल्यै पनि भेटिँदैनन्,
नभेटिनु पर्नेहरू पो बाटो भरी भेटिन्छन् ।
-------------------------------------------------
संस्कार संस्कृति अनि परिवेश कसको हो
हाम्रो भनिएको भाषा र भेष कसको हो
यही देशमा जन्मिएर ऐलानी हुनुपर्छ भने,
आखिरमा यो सुन्दर नेपाल देश कसको हो ।
-------------------------------------------------
गिट्टी फोर्दै ढुङ्गा बोकी दुःख पाएको छ
गाली, गलोज सत्त ,सराप कति खाएको छ
गाउँमा विकास गर्छु, रोजगारी दिलाउँछु भन्ने,
योद्धा नै आज मुग्लान पसेको खबर आएको छ ।
-------------------------------------------------
ढाँटेर अनि लुटेर खाने बानी कहिले सम्म फेरिन्छ
भन न भन कत्ति लाज नमानी कहिले सम्म फेरिन्छ
मिठो, मसिनो खाँदै महलमा बसेर पजेरोमा हिँड्ने सरकार,
गाँस, बास नहुने गरिबकाे कहानी कहिले सम्म फेरिन्छ ।