२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा रक्तदान कार्यक्रम भएको छ । दिवसको अवसरमा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठमा कार्यरत ५ जनाले रक्तदान गरेका छन् । ३ जनाले ओ पोजेटिभ, १ जनाले ए बि पोजेटिभ र १ जनाले बि पोजेटिभ गरी कुल ५ जनाले रक्तदान गरेको जिल्ला अस्पतालमा रहेको ब्लड बैङ्कमा कार्यरत ल्याब टेक्निसियन पुष्कर केसीले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालमा रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले बताउनुभयो । गुल्मले २४ औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवसको अवसरमा आज रक्तदान कार्यक्रम भएकामा यसअघि सरसफाइ, सचेतना र वृक्षारोपण जस्ता कार्यक्रम सञ्चालन गरेको शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिग्रे मन्दिरमा सरसफाइ, मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माविमा विपत् व्यवस्थापन र शीतलहरबाट बच्ने उपाय सम्बन्धी सचेतना कार्यक्रम र गुल्म परिसरमा वृक्षारोपण गरिएको हो । २४ औँ सशस्त्र प्रहरी दिवस आगामी माघ ९ गते मनाइँदै छ । दिवसको अवसरमा गुल्मले अन्य विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाएको छ ।