Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोलामा पुल निर्माणको काम धमाधम
पितिवाङ खोलामा पुल निर्माण काम हुँँदै । फोटो गोपाल ओली ।

वर्षौँ देखि अलपत्र अवस्थामा छोडिएको  पितिवाङ खोला पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएसँगै निर्माणको कामले गति लिएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोला पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनले समयमै काम सम्पन्न गर्न नसेकपछि पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको हो । संरक्षण निर्माण सेवाको चरम लापरबाहीका कारण वर्षौँ देखि  पुल अलपत्र अवस्थामा रहेको थियो । 

संरक्षण निर्माण सेवा र डिभिजन सडक कार्यालय चौरजहारी बिच २ वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण कार्य २०७८ को वैशाख ७ गते हुनुपर्ने थियो । सम्झौता अनुसार काम सम्पन्न नगरेपछि गत मंसिरमा यति विल्डर्सले  पुल निर्माणको काम सुरु गरेर काम धमाधम गरिररेको छ ।

 ५ करोड २८ लाख रुपैयाँ कुल लागतमा पुल निर्माणको सम्झौता भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण साढे ५ वर्षभन्दा लामो समय देखि पुल निर्माण कार्य अलपत्र परेको थियो ।

उक्त अवधिमा पुलको एक साइडको पिलर मात्र उठाएर अलपत्र छाडिएको थियो । यति विल्डर्सले निर्माणको जिम्मा लिएसँगै निर्माण हुन बाँकी रहेको अर्को  साइडको पिलर उठाएर ढलान गर्ने तयारी  गरिएको छ । पुल सिङ्गल स्पानको ३५ मिटर लामो रहेको डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणको काम धमाधम भइरहेकाले  पुल निर्माणको काम समयमै सकिने अनुमान छ ।

चालु  आर्थिक वर्षभित्र सबै प्रक्रिया पूरा गरेर गाडी समेत गुड्ने प्रमुख शर्माले बताउनुभयो । कानुनी रूपमा यो पुल निर्माणको ठेक्का संरक्षण निर्माण सेवासँगै रहेको तर निर्माण व्यवसायी बिचको आपसी समझदारीमा यति विल्डर्सले निर्माणको जिम्मा लिएको हो । पुल निर्माणको काम धमाधम भइरेकाले जतिसक्यो छिटो पुन निर्माणको काम सम्पन्न गर्ने गरी काम संचालन भइरहेको यति विल्डर्सका पितिवाङ खोला पुलका साइड इन्चार्ज समीर डाँगीले जानकारी दिनुभयो । 

पितिवाङ खोलामा पुल नहुँदा जिल्लावासीले वर्षौँ देखि दुःख भोग्न बाध्य भएकोले जसरी पनि पुल निर्माण गर्ने उद्देश्यले निर्माणको जिम्मा लिएको यति विल्डर्सका सञ्चालक भिमराज केसीले जानकारी दिनुभयो । समयमै पुल निर्माण गर्ने गरी काम भइरहेको उहाँको भनाई छ ।

WhatsApp-Image-2025-01-10-at-14.07.26_feab26aa-1736510904.jpg

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update