लामो समयदेखि खानेपानीको समस्य व्यहोरिरहेका पक्रैयाबासीको समस्या समाधान भएको छ । सानीभेरी गाउँपालिका १, पक्रैयाका सबै घरमा खानेपानी पुगेको छ । दुई आर्थिक वर्ष लगाएर खानेपानी योजना निर्माण सम्पन्न भएको थियो । स्याला-भण्डारवन-पक्रैया खानेपानी योजना मार्फत पक्रैयाका एक सय ६१ घरधुरीमा खानेपानी पुगेको हो । आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को बजेटबाट उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको हो ।
कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उक्त खानेपानी योजनाको उद्घाटन गर्नुभएको थियो । कर्णाली प्रदेश सरकार, सानीभेरी गाउँपालिकाको लगानीमा उक्त खानेपानी योजना सम्पन्न भएको छ । स्थानीयको १९ लाख श्रमदान र प्रदेश तथा गाउँपालिकाको ७८ लाख बजेटबाट उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको हो । लामो समयदेखिको खानेपानी समस्या टरेपछि सर्वसाधारण खुसी भएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष अमरसिङ पुनले सरकारले स्थानीयको ठूलो समस्या समाधान गरिएको बताउनुभयो । टाढा टाढाबाट पिठ्युमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने बर्षौदेखिको समस्या समाधान भएको अध्यक्ष पुनले बताउनुभयो ।
पक्रैयाबासीले कैनखोला, थारपुज्ने तथा लोटेखोलाको पानी बोकेर प्रयोग गरिरहेका थिए । खानेपानी संकलन गर्नका लागि नै स्थानीयले ठूलो दुःख गर्दै आएका थिए । पानी भर्नक लागि समय खर्च गर्नुपर्ने, तथा फोहर पानीको उपयोग गर्न बाध्य सर्वसाधारणका लागि यो योजनाले ठूलो राहत पुगेको छ । वडाध्यक्ष टेकबहादुर पुनले प्राथमिकतामा रहेको वडाको योजनामध्यको यो खानेपानी योजना निर्माण भएको जानकारी दिनुभयो । मान्छेको आधारभुत आवश्यक्ताको रुपमा रहेको खानेपानी पुर्याउनै पर्ने बाध्यता रहेको पक्रैयामा अब खानेपानीको दुःख नभएको वडाध्यक्ष पुनको भनाई छ ।
खानेपानीका लागि स्थानीयले सक्दो श्रमदान गरेका छन् । आफ्ना लागि खानेपानी योजना निर्माण हुने भएपछि सर्वसाधारण कस्सिएर योजना निर्माणमा लागेका थिए । सबैका घरमा धारा पुगेपछि मानिसले पिउने, करेसाबारी बनाउने तथा पशुवस्तुका लागि समेत सजिलो भएको छ । आगनमा पुगेको पानी बहुउपयोगि बनाउन भनिएको छ । पिउने, करेसाबारीको सिचाई गरेर बाह्रैमास हरियो सागसब्जि सेवनका लागि अब सर्वसाधारणलाई सजिलो भएको छ । यस अघि पिउने पानी नहुँदा अरु काम गर्न समस्या व्यहोरिरहेका आफूहरुलाई घरघरमा आएको पानीले दैनिक जिविकोपार्जनमा सजिलो भएको स्थानीय मनकुमारी पुनले बताउनुभयो ।