परिचय
कान्छो जिल्ला रुकुमपूर्व प्राकृतिक सौन्दर्यको खानी हो । यस जिल्लाको उत्तरी भेगमा विविध मनमोहक हिमालहरु छन् । दक्षिणी भेगबाट देखिने धौलागिरि हिमालय श्रृंखलाका यी हिमाल भन्नु नै रुकुमपूर्वको शान, गौरव र पहिचान हुन्। यससँगै विविध जलाधार र सिमसारको उर्वरभूमिको रुपमा पनि मुलुकमै रुकुमपूर्वको नाम उँचो छ । यहाँ जैविक विविधता, हिमताल, हिमनदी र विभिन्न खनिज पदार्थहरु प्रचुर मात्रामा छन् । यस जिल्लाको सानीभेरी र डोल्पा रुकुमपश्चिम भई बग्ने ठूलीभेरी नदीका स्रोतहरु पनि यिनै हिमालहरु हुन् । यस अलावा रुकुम जिल्लाकै सबैभन्दा ठूलो कमलताल, सुनदह, मुसिउ दह लगायत अन्य पहिचान खुल्न नसकेका कैयन तालतलैया र हिमताल पनि यिनै हिमालका काखमा छन् ।
पछिल्ला वर्षहरुमा विश्वव्यापी रुपमा बढ्दै गएको वातावरणीय प्रतिकूलता र जलवायु परिवर्तनका कारण हिमाली पर्वत सेताम्मे र चमकदार देखिनुको साटो काला पहाडका रुपमा देखिन थालेका छन् । यसको सोझो अर्थ हिमालमा हिउँ पर्न छाडेको र परे पनि विगतको तुलनामा निकै कम पर्ने या पर्दै नपर्ने र परे पनि हिउँ नजम्ने अवस्था देखा पर्न थाल्दा हामी सबैलाई चिन्तित तुल्याएको मात्र छैन, स्वयं नै त्यसको भुक्तभोगी छौं ।
यस सन्दर्भमा रुकुमपूर्वमा रहेका हिमालहरुको जानकारी दिने, पहिचान खुल्न नसकेका अन्य हिमशिखर हरुको खोज तथा अनुसन्धानको बाटो खुलाउने, जलवायुजन्य जोखिमको जानकारी गराउने र आन्तरिक तथा बाह्रय पर्यटकका लागि रुकुम पूर्व एक महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गराउने तथा सिंगो जिल्लाको आर्थिक समृद्धिका लागि गुरुयोजना निर्माण गर्ने कार्यलाई बढावा दिन यो दस्तावेज तयार गरिएको हो । साथै वन, वन्यजन्तु तथा वनस्पतिका लागि आवश्यक जलआपूर्ति, भूमिगत जलसञ्चय, जैविक विवधताको संरक्षण, ग्रामीण जनजीवन, जीव-जीवात्माको अस्तित्व रक्षाका लागि स्वच्छ र नियमित पानीका स्रोतहरु पनि हिमालय क्षेत्र रहेकाले हिमालहरु आफैमा पर्यटन विकासका प्रमुख आधारशीला हुन् भन्ने यथार्थलाई यसै दस्तावेजले उजिल्याउन मार्ग प्रशस्त गर्नेछ ।
हिमालहरु
तल उल्लेखित सबै हिमालहरु धौलागिरि हिमश्रृंखलाको पश्चिम धौलागिरि sub-mountain range मा पर्दछन् । सिस्ने बाहेक सबै हिमाल पुथा उत्तरगंगा गाउँपालिकाको उत्तरी भेगमा अवस्थित छन् । सिस्ने सहित ती हिमालहरुको संक्षिप्त चिनारी यसप्रकार छ :
१. पुथा हिमाल (Mt. Putha/Pyutha Hiunchuli)
क) पुथा I/पुथा पहिलो ७,२४६ मिटर
ख) पुथा II/ पुथा वेस्ट - ६,६०३ मिटर *
ग) पुथा III/पुथा सोल्जर ६, ५६८ मिटर *
क) पुथा 1/पुथा पहिलो ७,२४६ मिटर
यो हिमाल रुकुमपूर्वको लागि विवाद रहित सर्वाधिक उचाइको हिमाल हो । यो हिमालको उचाइ ७,२४६ मिटर छ । यो २८ डिग्री ४४ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०८ मिनेट ५३ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । यहाँसम्म पुग्न पर्यटकीय गाउँ मैकोटदेखि नयाँवन बेसक्याम्पसम्म करिब ३ दिन पैदल हिँड्नुपर्दछ । यो हिमाल डोल्पा र रुकुमपूर्वको सीमाक्षेत्रमा पर्दछ । वन्यजन्तु शिकारका लागि ख्याती कमाएको ढोरपाटन वन्यजन्तु आरक्षको दोगारी ब्लकमा पर्ने यो क्षेत्र नाउर, हिमाली कालो भालु, हिउँचितुवा लगायतका हिमाली जन्तुको वासस्थानका रुपमा चिनिन्छ ।
विश्वमै प्राकृतिक रुपले दुर्लभ र आर्थिक रुपले बहुमूल्य जडिबुटीको उपमा पाएको यार्सागुम्बा पाइने क्षेत्र पुपाल लेक यसैको पश्चिमी काखमा रहेको छ । स्थानीय मगर खाम भाषाबाटै पुथा हिमालको नामकरण गरिएको हो । पुथा उत्तरगंगा गाउँपालिकाको नामकरण यसै हिमालको नामबाट राखिएको छ । पुथा हिमालबारे विभिन्न किंवदन्तीका गाथा स्थानीय लोक जीवनमा सुन्न सकिन्छ । उत्तरी (डोल्पा) मोहडाबाट धेरैजना विदेशी तथा स्वदेशी आरोहीहरुले यसको सफल आरोहण गरेका छन् भने दक्षिणी (रुकमपूर्व) मोहडाबाट आरोहणको आजका दिनसम्म आरोहणको प्रयास भएको देखिन्न ।
(ख) पुथा II / पुथा पश्चिम – ६,६०३ मिटर
पुथा पश्चिम हिमाल एक महत्वपूर्ण चुचुरो हो । यसको उचाइ ६,६०३ मिटर रहेको छ । यो हिमाल २८. डिग्री ४४ मिनेट २६ सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०६ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । यहाँ मैकोट गाउँदेखि बँदेलताल बेसक्याम्प भएर पैदलमार्ग छिचोल्दै साढे दुई दिनमा पुग्न सकिन्छ । पुथाको दक्षिणी मोहडामा पर्ने यस हिमालको आरोहणको लागि अझैसम्म पनि कोही कसैबाट प्रयास गरेको पाइँदैन ।
ग) पुथा III / पुथा सोल्जर - ६,५९८ मिटर
पुथा सोल्जर हिमाल एक महत्वपूर्ण हिउँचुली हो । पुथा सोल्जर ६,५६८ मिटर उचाइमा अवस्थित छ । २८ डिग्री ४४ मिनेट ०६ सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०६ मिनेट ३५ सेकेण्ड पूर्वी देशान्तरमा यो हिमाल पर्दछ । मैकोट गाउँदेखि नयाँवन हुँदै बेसक्याम्पसम्मको दूरी करिब ३१ किलोमिटरको air distance पर्दछ ।
पुथा हिमालको दक्षिणी काँधमा अवस्थित रहेकाले अंग्रेजी शब्दबाटै यसलाई पुथा सोल्जर नामकरण गरिएको हो ।
२. दोगारी हिमाल (Mt. Dogari)
(क) दोगारी I / दोगारी पहिलो ६,५३६ मिटर
(ख) दोगारी II / दोगारी पूर्व - ६,२६० मिटर *
(ग) दोगारी III / दोगारी पश्चिम ६,०३० मिटर *
क) दोगारी I / दोगारी पहिलो ६,५३६ मिटर
दोगारी हिमाल ६,५३६ मिटर उचाइमा अवस्थित छ । यो २८ डिग्री ४६ मिनेट ०० सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०६ मिनेट ०१ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । मैकोट गाउँ हुँदै यसको बेसक्याम्प (भेडाखर्क) पुग्न साढे दुई दिन पैदल हिँड्नुपर्छ । यससँगै ६,२६० मिटर अग्लो पूर्वी दोगारी र ६,०३० मिटर उचाइको पश्चिम दोगारी हिमाल पर्दछन् । दोगारी हिमालको नामबाटै यसको फेदीको आसपासको लेकाली क्षेत्रलाई ढोरपाटन वन्यजन्तु आरक्षले नाउर र झारल शिकारका लागि 'दोगारी ब्लक' नामको आरक्षित क्षेत्र छुट्याएको छ ।
३. साम्जाङ हिमाल (Mt. Samjang)
(क) साम्जाङ I / साम्जाङ पहिलो ५,६२४ मिटर *
(ख) साम्जाङ II / साम्जाङ दोस्रो ५,८८५ मिटर *
क) साम्जाङ I / साम्जाङ पहिलो - ५,६२४ मिटर
साम्जाङ हिमाल ५,६२४ मिटर उचाइमा अवस्थित छ । यो हिमाल २८ डिग्री ४७ मिनेट १० सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०४ मिनेट ४५ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । यहाँसम्म पुग्न मैकोट गाउँदेखि बेसक्याम्प सम्ममा साढे दुई दिन हिँड्नुपर्दछ ।
यो हिमालसँगै ५,८८५ मिटरको साम्जाङ दोस्रो हिमाल पनि अवस्थित छ । साम्जाङ II २८ डिग्री ४६ मिनेट ४५सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०५ मिनेट ५४ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । विभिन्न हिमाल विज्ञका अनुसार साम्जाङ हिमालको चुचुरोबाट आरोहण भएको खण्डमा यसबाट गजबको पानारोमिक भ्यू देख्न सकिने आरोहीहरुको अनुमान छ ।
४. सिस्ने हिमाल (Mt. Sisne)
(क) सिस्ने I / सिस्ने पहिलो ५,६११ मिटर
(ख) सिस्ने II / सिस्ने दोस्रो - ५,८५४ मिटर *
क) सिस्ने I / सिस्ने पहिलो - ५,९११ मिटर
रुकुमपूर्व र रुकुम पश्चिम दुई जिल्लाको सीमानामा सिस्ने पहिलो र दोश्रो हिमाल अवस्थित छन् । सिस्ने गाउँपालिकामा रहेकाले गाउँपालिकाको नामकरण नै यो हिमालसँग जोडिएको छ । हामीले टाढाबाट देख्ने सिस्ने भन्ने गरिएको हिमालको धारमा रहेका चुलीहरुमध्ये दुईओटा चुली ५,८०० भन्दा अग्ला छन् । जसमा सिस्ने पहिलो को ५,६११ मिटर र सिस्ने दोस्रोको ५,८५४ मिटर उचाइ छ ।
माउन्टेन गाइड मनबहादुर खत्रीको नेतृत्वमा ८ जना स्वदेशी तथा विदेशी आरोहीको टोलीले सिस्ने पहिलोको २०१३ मे २६ तारिख (२०७० जेठ १२ गते) का दिन सफल आरोहण गरेको थियो ।
सिस्ने पहिलो हिमाल २८ डिग्री ५० मिनेट २३ सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ३७ मिनेट ३६ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । सिस्ने गाउँ हुँदै यसको बेसक्याम्पसम्म पुग्न करिब २ दिनको बाटो तय गर्नुपर्छ ।
५. ङिम्कुँ (Mt. Ngimku/Nimku) - ५,८३३ मिटर
ङिम्कुँ हिमालको उचाइ ५,८३३ मिटर रहेको छ । यो २८ डिग्री ४६ मिनेट ४६ सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०४ मिनेट ०६ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । यहाँसम्म पुग्न मैकोट गाउँदेखि दुई दिनको पैदलयात्रा तय गर्नुपर्दछ । मुस्ताङबाट सुरु भएर रुकुम पश्चिमको गोतामकोटमा अन्त हुने ट्रान्स हिमालय धौलागिरि ट्रेकको सबैभन्दा अग्लो र पदयात्राका क्रममा छिचोल्न मुश्किल लाग्ने छेरा (pass) यसै हिमालको फेदीमा पर्दछ । जुन छेराले गुर्गाड र दोगारी उपत्यका छुट्याउँदछ ।
कुनै कालखण्डमा हिमाली कालो भालु लुकेर बस्ने भनिएको गुफाको शिर हुँदै यो हिमाल उठेकाले ङिम्कुँ हिमाल भनिएको हो । स्थानीय मगर खाम भाषामा 'ङिम' भनेको हिमाली कालो भालु र 'कुँ' भनेको गुफा हो ।
४. मुसिउ कोल्टा/Hidden Valley
पश्चिम धौलागिरि खण्डको फेदीमा मुसिउ कोल्टा अवस्थित छ । स्थानीय मगर खाम भाषामा 'मुसिउ' भनेको लुकेको र 'कोल्टा' भनेको उपत्यका हो । यसलाई नेपाली भाषामा 'लुकेको उपत्यका' भन्ने गरिएको छ । पश्चिम धौलागिरि हिमश्रृङ् खलाको अन्वेषण गर्ने कतिपय अध्येताले यो उपत्यकालाई Hidden Valley पनि
भन्ने गरेका छन् । ४,५०० मिटर उचाइमा रहेको मुसिउ कोल्टाको कुल क्षेत्रफल करिब ८ हजार वर्गमिटर भन्दा बढी रहेको छ ।
समग्रमा पुथा हिमालको दक्षिणपूर्वी भाग, चुरेन हिमालको दक्षिणी भाग, धौलागिरि छैठौं को पश्चिम भाग, गुर्जा हिमाल र घुस्तुङ हिमालको उत्तरी भाग मिलेर नै मुसिउ कोल्टा बनेको छ। यहाँ माथि उल्लेखित सबै हिमालहरुको उपयुक्त साझा बेसक्याम्प नै मुसिउ कोल्टा हो । यो उपत्यका भएर बग्ने कापेखोला बहँदै जाँदा घुस्तुङ खोला र अन्तमा सानीभेरीको रुप लिन्छ । मुसिउ कोल्टाको पेरिफेरिमा रहेका हिमालहरुबाट बनेका हिमनदी नै सानीभेरी नदीको पानीको मुख्य मुहान हो ।
विगत लामो समयदेखि मुसिउ कोल्टालाई रुकुमपूर्व र म्याग्दी जिल्लाले आ-आफ्नो भनी दाबी गर्दै आइरहेकाले यो हिमाली उपत्यका विवादमुक्त छैन । तर दुवै जिल्लाका सरोकारवालाहरुको सहमतीमा विवादरहित बनाउन प्रयास गर्नु पर्दछ । मुख्यतः पानीढलो र परम्परागत भोगचलनलाई मूल आधार मान्ने हो भने उक्त क्षेत्रमा अवस्थित सबै हिमालहरु, कापेखोला हिमनदी र मुसिउ कोल्टा निर्विवाद रुपमा रुकुमपूर्वमा पर्दछन् ।
१. मुसिउ कोल्टा / Hidden Valley को दृस्यहरु
१ चुरेन हिमाल अन्तर्गतका हिमाल ७,३८५ मिटर, ७,३७० मिटर र ७,३७१ मिटर । **
२ धौलागिरि VI अन्तर्गतका हिमाल ७,२६८ मिटर, ७,१६७ मिटर, ७,१३३ मिटर र ६,६४० मिटर । ***
३ पुथा हिमाल अन्तर्गतका हिमाल ७,२४६ मिटर र पुथा सोल्जर ६,५६८ मिटर।
४ गुर्जा हिमाल : ७,१६३ मिटर । ४.५ घुस्तुङ हिमाल : उत्तर ६,५२६ र दक्षिण ६,४६५ मिटर ।
यस मुसिउ कोल्टा वरपरका हिमालहरु मध्ये पुथा पहिलो र पुथा सोल्जर रुकुमपूर्वका हुन् भने बाँकी अन्य हिमालहरु रुकुमपूर्व र म्गाग्दी जिल्लाको विवादित क्षेत्र अन्तर्गतका हुन् ।
निष्कर्ष / सुझाव्
नेपाल सरकारले आरोहणका लागि मुलुकभर ४ सय १४ वटा हिमालहरुलाई अनुमति दिएको छ । पश्चिम धौलागिरि हिमश्रृंखला अन्तर्गत चुरेन, धौलागिरि VI/छैठौंको (पहिलो/मुख्य), पुथा पहिलो, गुर्जा, घुस्तुङ, सिस्ने पहिलो र दोगारी पहिलो हिमाल हुन् । यस्तै पुथा सोल्जर, पुथा पश्चिम, दोगारी पूर्व, दोगारी पश्चिम, साम्जाङ पहिलो, साम्जाङ दोस्रो, सिस्ने दोस्रो, ङिम्कुँ लगायत धौलागिरि छैठौंका दोस्रो, तेस्रो, चौथो हिमालहरु आरोहणका लागि अनुमति दिइएको छैन ।
यी सबै हिमालहरुलाई सूचीकृत गरी आरोहणका लागि सम्बन्धित निकायबाट प्रक्रिया चालिनु आवश्यक छ । सम्बन्धित सरोकारवाला निकाय र स्थानीय समुदायलाई यसतर्फ ध्यान खिच्न सके यी हिमालहरुको प्रवर्द्धनसँगै पर्यटकीय विकासका गतिविधि सञ्चालन गर्न सहज हुने देखिन्छ ।
लेखक रूकुमबाट पहिलाे सगरमाथा आराेही हुनुहुन्छ भने हाल पर्यटन अभियान्ताका रूपमा कार्यरत हुनुहुन्छ ।