Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमको पत्रकारिता विषयमा सरोकारवालासँग अन्तरक्रिया

पत्रकार महासंघ रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरेको रुकुमको पत्रकारिता विषयक सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ । शनिवार सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधि सँग महासङ्घले अन्तरक्रिया कार्यक्रम गरेको हो । पछिल्लो समय जिल्लामा पत्रकारिता गर्ने पत्रकारको संख्या घट्दै गएको उल्लेख गर्दै पत्रकारिता पेसालाई जोगाइ राख्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने, स्थानीय तह तथा सङ्घ संस्थाहरूले जिल्ला बाहिरका पत्रपत्रिकालाई विज्ञापन दिने प्रवृत्ति बढेकाले यसलाई रोकी स्थानीय सञ्चार माध्यमलाई उपलब्ध बनाउनुपर्ने, जिल्लाको समग्र विकासको निम्ति सबैले हातेमाले गरेर अगाडी बढ्नुपर्नेमा जिल्लास्थित पत्रकार तथा सरकारवालाहरुकाे जाेड छ । 

प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले पत्रकारले पत्रकारिताको माध्यमबाट जिल्लामा ठुलो योगदान पुर्‍याएको उल्लेख गर्दै भुईँ मान्छेका समाचार पनि सञ्चार माध्यममा आउनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले समाजमालाई सही मार्गमा पुर्‍याउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कार्यवाहक प्रमुख विकको भनाई थियो । त्यस्तै विशेष अतिथि मुसिकोट नगर प्रमुख महेन्द्र केसीले पत्रकारलाई समाजका हरेक गतिविधि थाहा हुने भएकाले निर्धक्कका साथ नराम्रा कामको खबरदारी र राम्रा कामको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । यस अघिको पत्रकार महासङ्घको टिमसँग पनि सहकार्य गरेर काम गरेको उल्लेख गर्दै नयाँ आएको कार्यसमिति सँग पनि मुसिकोट नगरपालिको तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले पत्रकारले जिल्लामा पत्रकारिताको क्षेत्रमा राम्रो काम गरेको उल्लेख गर्दै सत्यको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । साथै गलत काम गर्ने जोसुकै भएपछि खबरदारी गर्न नछाड्न  समेत आग्रह गर्नुभयो । पालिकाबाट हुने सहयोग सहकार्यको लागि आफू सहयोग गर्ने पनि तयार रहेको पालिका अध्यक्ष केसीको भनाई थियो । 

त्यस्तै गरी प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जिम्मेवारी फरक फरक रहे पनि सबैको लक्ष समाज परिवर्तन गर्ने नै रहेकाले सबै मिलेर समग्र जिल्लालाई समृद्ध बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो । त्यसका निम्ति पत्रकार महासंघ, स्थानीय तह, प्रशासन सबैले हातेमाले गर्नु पर्ने बताउनुभयो । प्रशासनको तर्फबाट हुने साथ सहयोग तथा सहकार्यको लागि आफू सधैँ तयार रहेको प्रजिअ जिसीको भनाई थियो । 

पत्रकार महासंघ शाखा अध्यक्ष गोपालप्रसाद रेग्मीले जिल्लाको पत्रकारिता पेसालाई जोगाइ राख्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । महासङ्घले गर्ने विभिन्न गतिविधिमा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको भरपुर साथ सहयोग पाउने समेत विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घका उपाध्यक्ष देवकुमार ओलीले जिल्लामा पत्रकारले भोग्नु परेको समस्या, सञ्चार माध्यमलाई परेको असर, सञ्चारमाध्यमको अवस्था लगायतका बारेमा जानकारी बनाउनुभएको थियो । 

पत्रकार महासंघ शाखाका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगर प्रमुख महेन्द्र केसी, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, सुरक्षाकर्मीका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । पत्रकार महासंघ शाखाकी उपाध्यक्ष सुमित्रा केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शाखाका सचिव दीपेन्द्र महताराले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update