Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटले सवै वडामा १९ प्रकारका औषधि र स्वास्थ्य सामग्री दियो 
वडामा रहेका स्वास्थ्य संस्थामा वितरण गर्न लैजान लागेका स्वास्थ्य सामग्रीहरू ।

बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई लक्षित गर्दै रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले १४ वटै वडामा स्वास्थ्य सामग्री र औषधि प्रदान गरेको छ । ज्वरो, रुघा, खोकी लगायतका स्वास्थ्य समस्या भएका वडावासीलाई वडामै उपचार गर्न नगरपालिकाले सबै वडामा स्वास्थ्य सामग्री र १९ प्रकारका औषधि उपलब्ध गराएको हो । 

आज वडा/वडामा पुगेर स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य इकाईमा मास्क, थर्मलगण, अक्टोमिटर लगायतका स्वास्थ्य सामग्री र पारासिटामोल लगायतका १९ प्रकारका औषधिहरु बाँडिएको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो । नगरपालिका अन्तरगतका १५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार प्रति स्वास्थ्य संस्था ५ सय थान मास्क, एक/एक वटा अक्सोमिटर र थर्मलगण तथा १९ प्रकारका औषधि वितरण गरिएको छ । नगरपालिकाले ७ लाख रुपैंयामा यि सामग्री खरिद गरेर वडा वडामा बाँडेको हो । गाउँ गाउँमा ज्वरो, रुघा, खोकीका लक्षण भएका बिरामीहरुको संख्या बढेपछि उनिहरुको उपचारका लागि स्वास्थ्य सामग्री र औषधिको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणले नगरपालिकालाई पनि आक्रान्त पारिरहेकोले वडावासीलाई सुरक्षित राख्न र संक्रमितको उपचारमा यि स्वास्थ्य सामग्रीहरु र औषधिले सहयोग गर्ने नगरपालिकाले विश्वास लिएको छ । आज प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीको नेतृत्वमा दुई टोलीले वडा/वडामा पुगेको थियो । 

यसका साथै नगरपालिकामा कोरोना राकथाम, नियन्त्रण र उपचारका लागि जनप्रतिनिधि, कर्मचारी, सबै शाखाहरु सक्रियताका साथ लागिरहेको नगरपालिकाले जनाएको छ ।   
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update