Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाबाट झण्डै ६ करोड रुपैयाँको अदुवा बिक्री
बीउकाे लागि अदुवा केलाउँदै किसान ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन सँगै मुल्य पनि राम्रो पाएकाे छ । गत वर्षको भन्दा यस वर्ष अदुवा खेती गर्ने किसानको संख्या घटेपनि उत्पादनमा भने बृद्धी भएको हो । यस वर्षमात्र त्रिवेणी गाउँपालिकाबाट झण्डै ६ करोड रुपैयाँको अदुवा विक्री भएको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । 

उहाँका अदुवा बिक्रिबाट किसानले ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् । १० वटा वडा रहेको त्रिवेणीमा १ हजार ९ सय ५० घरधुरीले अदुवा खेती गर्दै आएका छन् । प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवा खेती गर्दै आएका उहाँले बताउनुभयो । पालिकाभर हाल १ सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

एक रोपनी क्षेत्रफलमा ४ क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यसवर्ष १५ हजार ६ सय क्विन्टल अर्थात १५ दशमलव ६ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रति क्विन्टल ३ हजार ८ सय रुपैयाँभन्दा बढी मुल्यमा अदुवा बिक्रि गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ भने पालिकामा दुुई हजार ६ सय घरधुरीले अदुवा  खेती गर्दै आएकामा यस वर्ष अदुवा खेती गर्ने घरधुरी संख्या ६ सय ५० ले घटेर १९ सय ५० घरधुरीले मात्र अदुवा खेती गरेका थिए । व्यापारी गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको त्रिवेणी गाउँपालिका कृषि शाखाले जनाएको छ ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका  त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उहाँले  निरन्तर खेती गर्दै  आनुभएको छ । यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि राखेको र १२ क्विन्टल प्रतिक्विन्टल पाँच हजारदेखि १० हजार रुपैयाँका दरले बिक्री गरेको बताउनुभयो ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बाँठाकोटका ३७ वर्षीय कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मुल्य दुवै राम्रो पाएको बताउनुभयो । अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउको लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्ममा बिक्रि गरेको बताउनुभयो । ‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले एक क्विन्टलबाट तीन क्विन्टलसम्म उत्पादन हुने गरेको छु’, उहाँले भन्नुभयो । यस वर्ष बीउका लागि पाँच क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान घर्तीले बताउनुभयो ।

घर्तीले सुन्तला, किभी, अदुवा खेती गर्दै आउनुभएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update