रुकुमको जेठो संस्थागत विद्यालय विजयश्वरी बोर्डिङ स्कुलले आफ्नो २९ औँ वार्षिकोत्सव मनाएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको बोर्डिङले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । स्कुलले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमहरूको आयोजना गरेको थियो भने आइतबार दिवस विशेष औपचारिक समारोहको आयोजना गरिएको थियो ।
औपचारिक समारोह अघि खलङ्गा बजारमा प्रभातफेरि निकालिएको थियो । स्कुलबाट सुरु भएको प्रभातफेरि खलङ्गा बजार परिक्रमा गर्दै स्कुलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो । स्कुल सञ्चालक समितिका अध्यक्ष अनिता कुमाई भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको प्रमुख र उपप्रमुख विमलकुमार पुनको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि, प्याव्सनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्कुलको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । वार्षिकोत्सव र अभिभावक भेला समेत भएकोले अभिभावकहरूको समेत कार्यक्रममा उपस्थिति रहेको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू राखेका थिए । साथै वार्षिकोत्सवको अवसरमा सञ्चालित विभिन्न कार्यक्रममा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । त्यस्तै विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी, पूर्व कर्मचारी, विभिन्न सहयोगी निकायलाई कदर पत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
वार्षिकोत्सव समारोहको सञ्चालन प्रिन्सिपल जयबहादुर थापाले गर्नुभएको थियो ।