रुकुम पश्चिमका सेवाग्राही तथा सरोकारवालाले नियमित सार्वजनिक सुनाई हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबार सदरमुकाम खलङ्गामा आयोजना गरेको सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले नियमित सार्वजनिक सुनुवाइको माग गरेका हुन् ।
सार्वजनिक सेवा प्रदायक निकायले प्रत्येक ४, ४ महिनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था भए पनि जिल्लामा एकदमै कम मात्र सार्वजनिक सुनुवाइ हुने गरेको सहभागीहरूको गुनासो थियो । त्यस्तै कार्यक्रमका सहभागीहरूले जिल्ला सदरमुकाममा खानेपानी तथा फोहोर व्यवस्थापनमा समस्या रहेको, ट्राफिक व्यवस्थापन जटिल बनिरहेको, विभिन्न आयोजनाहरू अलपत्र रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
शिक्षा क्षेत्रमा चरम राजनीति भइरहेको, पुरातात्त्विक संरचना संरक्षणमा सरकार गम्भीर हुन नसकेको भन्दै सहभागीहरूले यस तर्फ गम्भीर हुन सचेत गराएका थिए । त्यस्तै सार्वजनिक सेवा प्रदायक निकायले सेवा प्रवाह र सेवाग्राहीको गुनासो सम्बोधन गर्न कन्जुस्याइँ गरिरहेको भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जिल्ला प्रशासनबाट सम्पादन भएका काम, सेवा प्रवाह, जिल्लाकाे समग्र विकास निर्माण, अलपत्र आयाेजना, ति आयाेजना पूरा गर्न भइरहेकाे प्रयास लगायतका बारेमा जानकारी गराउनुभएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिका उपप्रमुख ईश्वरी शर्मा बिएम, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, राजनीतिक दल, नागरिक समाज, जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले गर्नुभएको थियो ।