जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले आफू सधैँ पीडितको पक्षमा रहेको बताउनुभएको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखका रूपमा भर्खरै जिल्ला आउनुभएका उहाँले जिल्लास्थित सरोकारवालाहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कानुनले निर्दिष्ट गरे अनुसार सधैँ पीडितको पक्षमा रहेर काम गर्ने बताउनुभयो । प्रहरी भनेको कानुन कार्यान्वयन गर्ने निकाय भएकोले यसमा कुनै कम कमजोरी हुन नदिने उहाँको भनाई थियो । आफूले बोलेर भन्दा पनि कार्यान्वयन गरेर देखाउने र जिल्लाको शान्ति सुरक्षामा खलल आउन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि तथा पत्रकारहरूले सफल कार्यकालको कामना गर्दै जिल्लाको समग्र हित हुने गरी काम गर्न सुझाव दिएका थिए । जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षाका लागि भएका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा समेत सहभागीहरूले स्मरण गराएका थिए । सहभागीहरूले जिल्लावासीले सम्झिने गरी काम गर्न आग्रह गरेका थिए । यसअघिका प्रहरी प्रमुख नवराज पोखरेलको सरुवा भएपछि विष्ट केही दिन अघि मात्र जिल्लामा नयाँ प्रहरी प्रमुखका रूपमा आउनुभएको थियो ।