निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याव्सन रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन मुसिकोटमा सुरु भएको छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अधिवेशनको उद्घाटन गर्नुभयो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने प्याव्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्याव्सनका कर्णाली प्रदेश अध्यक्ष खड्कबहादुर कँवर, केन्द्रीय सदस्य जयबहादुर थापा, मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, प्याव्सन जाजरकोटका अध्यक्ष नरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । प्याव्सनका जिल्ला सचिव डिलबहादुर नाथको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष हरिभक्त भण्डारीले गर्नुभएको थियो ।
अधिवेशनका अवसरमा गत वर्षको कार्तिक १७ गते गएको भूकम्पबाट अभिभावक गुमाएका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो पोसाक वितरण वितरण गरिएको छ । झोला, कापी, कलम र न्यानो कपडा गरी ५ हजार बराबरका सामग्री सहयोग गरिएको हो भने आउने जाने भाडा समेत उपलब्ध गराइएको प्याव्सनले जनाएको छ ।
यो पनि पढ्नुहोस
सानीभेरी गाउँपालिकाका १४ र आठबिसकोट नगरपालिकाका २८ जनालाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेकामा आज सानीभेरीका बालबालिकालाई वितरण गरिएको र आठबिसकोटका बालबालिकालाई अर्को दिन वितरण गरिने अध्यक्ष शर्माले बताउनुभयो ।
त्यस्तै १९ वटा विद्यालयका उत्कृष्ट १९ जना शिक्षक शिक्षिकाहरूलाई सम्मान गरिएको छ भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।