Kakhara सबैको खबर सम्पूर्ण खबर
मगर समुदायले छोरी चेली पुजेर माघी मनाउँदै 

माघी मगर समुदायको पनि विशेष पर्व हो । मगर समुदायको बाक्लो बसोबास रहेको रुकुम पूर्वमा यस पर्वलाई विशेष पर्वको रूपमा मनाउने गरिन्छ । मगरहरूको लागि भूम्या अर्थात् बल पूजा पछिको दोस्रो ठुलो पर्व माघी मानिन्छ । बिहानै उठेर छोरी चेलीलाई पुज्ने गरिन्छ । दाजु भाइहरूले दिदी बहिनीहरूलाई पुज्ने गर्दछन् । सुरुमा आफ्नै घरका छोरी चेलीलाई पुज्ने चलन छ । 

त्यसपछि छरछिमेकका छोरी चेलीलाई पुज्ने गरिन्छ। छोरी चेलीलाई पुजिसके पछि लत्ताकपडा र मिठो खाने परिकार दिएर माघी पर्व सुरु भएको मानिन्छ । यसरी नै जिल्लाका तीन स्थानीय तहमा बसोबास गर्ने मगर समुदायले माघी पर्व मनाउने गरेका छन् । पुथाउत्तरगंगा र भूमेको तुलनामा सिस्ने गाउँपालिका मगर समुदायको बसोबास थोरै छ, यसले गर्दा पनि सिस्ने माघीको रौनक त्यति हुँदैन। पुस मसान्तको राँगा तथा खसी बोका काटिन्छ, पिँडालु तथा तरुल पकाएर खाइन्छ । 

माघ १ अर्थात् आजको दिन छोरी चेलीलाई नपुजेर अरू काम हुँदैन । छोरी चेलीलाई पुजी सके पछि गाउँमा धनुष वाण मार्फत हरेक टोलमा तारो अर्थात् तीर हान्ने, छेलो फाल्ने प्रतियोगिता हुन्छन् । विजेतालाई पुरस्कारको व्यवस्था गरिएको हुन्छ । पुरस्कार तथा खर्च व्यवस्थापनको लागि भनेर टोल टोलमा नाचगान गरेर सङ्कलन गरेको सहयोगले तीर हान्ने तथा छेलो फाल्ने प्रतियोगिता समापन गरिन्छ ।

माघी मनाउने यो मगर समुदायको पुरानै चलन हो। यहाँ तीन दिन सम्म यो पर्व मनाउने गरिन्छ। नाचगान, तीर हान्ने देखि बेहुली पोल्ने गरिन्छ । पराल तथा खरलाई कपडाले बेरेर बेहुली बनाइएको हुन्छ । गाँजा बाजा सहित गाउँ नजिकैको खोलामा गएर बेहुली पोल्ने गरिन्छ। यो मगर समुदायको पुरानो चलन पुथाउत्तरगंगा गाउँपालिका १२ कोलका गङ्गा पुनले बताउनुभयो ।

चेली पुज्ने चलन 
यो माघीमा छोरी–चेली पुज्ने चलन छ । भालेको डाको सँगै उठ्यो । घरमा भएका चेली–बेटीलाई पुज्यो । बिहान ४ बजेर उठेर निराहार रही घरका अविवाहित चेली–बेटीलाई पुजेपछि माघे सङ्क्रान्ति पर्व सुरु भएको मानिन्छ । विशेष गरी दाजुभाइले दिदीबहिनीलाई पुज्ने, लत्ता कपडा तथा उपहारहरू दिने गर्दछन् ।

घरका चेली–बेटीलाई पूजि सकेपछि उनीहरू छरछिमेक गाउँका अरू चेली–बेटीलाई पुजेपछि अरू सामूहिक कार्यक्रम हुन्छन् । जिल्लाका पुथाउत्तरगंगा र भूमे गाउँपालिकाको मगर बस्तीमा माघे सङ्क्रान्ति मनाउने तरिका हो यो । पौष मसान्तका दिन राँगा तथा खसी, बोका काटिन्छ, सखरखण्ड तथा अरू कन्दमूल पकाएर राखिन्छ । माघ १ गतेको बिहानै चेली–बेटी पुजिन्छ । घरकी चेली–बेटी पुज्ने काम सबभन्दा पहिला हुन्छ । घरका छोरी–चेली नपुजी यो दिन अरू कुनै काम सुरु हुँदैन ।

पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै र भूमे गाउँपालिकाका अधिकांश वडामा माघे संक्रान्ति अर्थात् माघी यसै गरी मनाइन्छ । विशेष गरी पुथाउत्तरगंगा गाउँपालिकाका केही वडामा तिहारको सट्टामा माघे सङ्क्रान्ति दिन चेली–बेटीलाई पुज्ने र सम्मान गर्ने गरिन्छ । यो पुरानै चलन भएको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका विकास पुन मगरले बताउनुभयो । चेली–बेटी पुजिसकेपछि गाउँमा तिर हान्ने प्रतियोगिता सुरु हुन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update