नेपालको एक राष्ट्रिय पर्व माघेसगराँत अर्थात् माघेसंक्रान्ति समग्रमा नेपालीहरू सबैको साझा पर्व भए पनि यसलाई बुझ्ने बुझाइहरू, यस पर्व प्रतिको जनविश्वास, गरीमा र मान्यताहरू अनि यसलाई मनाउने तरिकाहरू नेपालमा समुदायगत हिसाबले र क्षेत्रगत हिसाबले फरक फरक छन् उस्तै दुरुस्तै छैनन् । यद्यपि एउटा मान्यतामा भने सबै नेपालीहरू एकरूपता देखिन्छन् त्यो हो - तरुल र सखरखण्ड खाने । हो पूर्व पश्चिम, उत्तर दक्षिण जता हेरे पनि नेपालभरि माघेसंक्रान्तिको दिन तरुल खाने चलन भने करिब करिब सबैमा देखिन्छ ।
तर मगर जातिहरूमा भने माघ पर्वको विशेषता, यसलाई मान्ने तरिका, यसको महत्त्व र गरीमा निकै नै उच्च छ, फरक छ । मगरहरूको मान्यतामा साधारण तरुल खाने पर्वको बुझाइले मात्रै माघेसगराँतको मूल्य, मान्यता र गरीमालाई न्याय गर्न सक्दैन । त्यसो त नेपालभरि छरिएर रहेका मगर जातिहरूमा पनि आफैभित्र भाषिक र सांस्कृतिक विविधता रहेको हुँदा माघे पर्वको बुझाई बारे अझै पनि पूर्ण एकरूपता देखिँदैन । तर पछिल्लो समय सारा मगरहरूले माघ पर्वको महत्त्व, मूल्य, मान्यता र इतिहास प्रति देखाएको चासो, श्रद्धा र सम्मानले बलियो एकरूपताको उदाहरण पेस गरेको छ । माघेसगराँत मगरहरूको मौलिकता र संस्कारले सुसज्जित ऐतिहासिक महान् पर्व हो भन्ने मान्यताले झन् बलियो जरा गाडेको महसुस मैले गरेको छु । मगरहरूको मान्यता, आस्था र प्रयोगको इतिहास र तथ्यको गहिरो अध्ययन गरेरै नेपाल मगर सङ्घ केन्द्रीय समितिले समेत माघेसगराँतलाई मगरहरूको महान् र मौलिक पर्व घोषणा गरेको वर्षौँ भइसकेको छ । त्यै अनुरूप आज देशभरि मात्रै नभई संसारका विभिन्न देशमा पुगेका मगरहरूले आ-आफ्नो स्थानको मगर सङ्घमा आबद्ध भई माघेसगराँत धूमधामका साथ मनाइरहेका छन् ।
आलेखको आरम्भमा प्रस्ट पारेको छु कि मगर जाति भित्रै पनि विविधताहरू रहेको कारण माघेसंगराँत मनाउने विधिहरू केही न केही फरक छन् । यस कारण यहाँ मैले राख्न गइरहेको मान्यता र विधिहरू २० लाख बढी संख्यामा रहेका सबै मगरहरूको विधि हो भनेर जबरजस्त दाबी त गर्दिनँ, तर मगरहरूको उद्गम भूमि मानिएको रुकुम पूर्वको मैकोट र हुकामका मगरहरूले पुर्खा देखी मनाउँदै र पछ्याउँदै आएको विधि र पद्धति चैँ हो । सक्दो प्रस्ट सँग राख्ने प्रयास गरेको छु ।
माघेसगराँतको विधिवत् तैयारी पौष १२ बाट
मंसिरे पूर्णिमाको रात अन्तिम ठुलो आकारमा देखिने र झलमल उज्यालो दिने चन्द्रमा पूर्णिमाको भोलिपल्टको रात देखी हरेक दिन सानो बन्दै जान्छ र उज्यालो पनि मधुरिँदै जान्छ । अन्ततः आँसीको रूप लिँदै विलय हुन्छ । पौष १२ को राति देखि देखिन छोडेको चन्द्रमा एक्कासि पौष पन्ध्रको रात बाट फेरी आँसीकै आकारमा देखिन थाल्छ । पौष १५ बाट दिन पनि लामो हुँदै जान्छ । हो यो चन्द्रमा हराएर अँध्यारो भएको ३ दिन ३ रातको समयलाई मगर खाम भाषामा 'नम चुँन्या' भन्छन् । यसको अर्थ आकाश बसेको अर्थात् अचल बनेको रोकिएको नघुमेको भन्ने अर्थ लाग्छ (नम: आकाश्, चुन्या: बस्ने) । यही नम चुँ भएको पौष १२ देखि १५ को बिचमा माघेसगराँत पर्वमा तारा हान्ने मुइँ (वाण) र लि (धनुष)को तैयारी सुरु हुन्छ । यो आकाश बसेको समयमा काटिएको अर्थात् तैयारी गरिएको धनुष र वाणले मानव क्षति हुने खतरा कम हुने पुर्खादेखिको मान्यता रहेको कारण हुकाम मैकोट क्षेत्रका युवाहरू यही समयमा ती सबै सर्जामको तैयारीमा लाग्छन् । मुइँ लेकाली निगाला (चुयाँ) को बनाइन्छ जसलाई स्थानीय मगर खाम भाषामा 'जुर्मुठ्याचल' भन्दछन् । यो बलियो र सुरिलो हुन्छ । भने लि औलतिर झरेर बाँसको काटेर बनाइन्छ । लि बनाउने बाँस विशेष खालको हुन्छ जसको नामै लिबाँस भनिन्छ । जो मोटो र बाक्लो हुन्छ । भित्रको ढुङ्ग्रो (प्वाल) सानो हुन्छ ।
टालो माग्ने
नम चुँ भएकै बेला देखी दिउँसो लि र मुइँको तयारी गरिन्छ भने हरेक साँझ कपडाकाे टालाे माग्ने अभियान चल्छ । माघ १ गते बाट सुरु हुने तारा हान्ने मेलामा तारो बनाउन अर्थात् काठको तारोलाई रङ्गिन पारेर आकर्षक बनाई हान्नका लागी गाउँका चेलीहरू सँग कपडाको टुक्रा, विभिन्न रङका मखमली कपडाको टालाे, हातले बुनेका बाषा (बुटा भरेर तयार पारिएको मखमलको सानो झोला), रङ्गीबिरङ्गी रिबनहरू र ऐना दर्पण जस्ता सामाग्रीहरू मागेर ल्याउने अभियानलाई टालाे माग्ने भनिन्छ । गाउँका १२/१५ वर्षका केटाहरू देखी २०/२५ वर्षका युवाहरूसम्म टालाे माग्ने अभियानमा लागेका हुन्छन् । प्रत्येक टोलका युवाहरूको टालाे माग्ने समूह छुट्टा छुट्टै हुन्छ । भरभराउँदो उमेरका नौजवानहरूको लागी यो पल निकै नै अमूल्य बन्छ । उनीहरू टालाे माग्ने अभियानको क्रममा मन पराएको मान्छेलाई हेरेर, नजरको भाषामा पिरती साटेर मज्जा लिने गर्दछन् । बिहे नभएको छोरी चेलीहरू भएको हरेक घर घरमा एक जना चेली बराबर एउटा टालाे माग्दै हिँड्ने उनीहरू डुँडीमादल बाँसुरी बजाउँदै पैँसेरूको तालमा हिँडेका हुन्छन् । भेडी गोठालो हिँडेका, सहर छिरेका वा जहाँसुकै पुगेका किन नहुन् यहाँका युवाहरू माघेसगराँतको यो सुनौलो समयमा गाउँमा रहन नपाउँदा आफूलाई निकै अभागी ठान्छन् ।
मिठा खाने चिजको बन्दोबस्त
माघेसगराँत आउनु हप्ता दिन अघि देखी विशेष त बन तरुल र सखरखण्डको जोह गरिन्छ । रोटी पकाउन गहुँ, कोदो र फापरको पिठो घट्टमा मसिनो सँग पिसेर तयार पारिन्छ । मासुको लागी राँगा, भेडा, खसी, कुखुरा, र बङ्गुर जस्ता पशुहरूको जोह गरिन्छ । महिना दिन भन्दा अगाडी देखी पकाइएका मकै र कोदोको जाँड र त्यसबाट बनाइएको रक्सी । हिउँद याम भएको हुँदा ताजा सागपात फलफूल हुँदैन । मह, अण्डा जस्ता चिजहरूको जोह गरिन्छ । केही दशक अघि सम्म चामलको भात पनि चाडबाडमा मात्रै खाइने मिठो खाने कुरामा पर्थ्यो । तर अहिले यो सामान्य भइसकेको छ ।
चेली पुज्ने संस्कार
चेली पुज्ने संस्कार माघेसगराँतको सबैभन्दा प्रमुख र महत्त्वपूर्ण विशेषता हो । पौष मसान्त साँझ नै सबै किसिमका खाने चिजहरूको तयारी गरेर सकिन्छ । घर सरसफाइ, लुगाफाटा सरसफाइ सबै सबै कार्य सकिएको हुन्छ । माघ १ गते सगराँतको दिन झिसमिसेमा उठेर दाजुभाइ दिदीबहिनी सबै जना नुहाउँछन् अर्थात् हात मुख धोएर सफा हुन्छन् । नयाँ लुगा लगाउँछन् । र दिदीबहिनीलाई राडी / काम्लो लगायतको ओछ्यान बिछ्याएर बसालिन्छ । दिदीबहिनीहरू आफू सँग भएका गहनाहरू सहित सजिएर सुन्दर भई बसेका हुन्छन् । दाजुभाइहरूले तयार भएका थोरै थोरै सबै खाने परिकारहरू थालीमा राखेर केही पैसा पनि सँगै राखेर चेलीहरूलाई श्रद्धाका साथ अगाडी साँधेर राखिदिन्छन् (पैसा अनिवार्य होइन) । र चेलीहरूको खुट्टामा निधार ठोकाएर ढोग दिन्छन् । यसरी झिसमिसेमा घरको चेली पुज्ने कार्य सम्पन्न हुन्छ । र तुरुन्तै टोलमा भएका सबै चेलीहरूको घर घरमा गएर पुज्ने काम हुन्छ जसलाई 'अगरास् सार्न्या' भनिन्छ (अगरास्: रोटी मासु रक्सी लगायतका खाने चिजहरूको एकमुस्ट भाग ! सार्न्या: पुर्याउने) । चेली भएकाहरू यताबाट उता, उताबाट यता पुज्ने कार्य दोहोरो हुन्छ भने चेली नभएकाहरूले एकोहोरो उता मात्रै पुज्दै डुल्नु पर्ने हुन्छ । घरमा चेली नहुनेहरूलाई माघे पर्वले वास्तवमै नमज्जाको अनुभूति दिने गर्दछ । उनीहरूलाई नियाँस्रो र नमिठो लाग्ने गर्दछ । सगराँतको दिन बिहान घरमा पुज्ने पनि कोही छैनन् । अनि गाउँलेहरू पनि मिठा खानेकुरा लिएर पुज्नलाई कोही घरमा आउँदैनन् किन की आफ्नो छोरी छैन । न त सगराँत भन्दा अघिल्लो दिनहरूमा टालाे माग्ने युवाहरूको समूहहरू नै घरमा छिर्छन् । आफू भने छोरी भएका सबैको घरघरमा पुग्नु पर्ने हुन्छ । हो वास्तवमा छोरी चेली नहुनेहरूले यी सबै पिडा मौखिक शब्दमा व्यक्त गर्न नसके पनि भोगिरहेका भने हुन्छन्, पिरोलिरहेका हुन्छन् । यस कारण पनि मगर जातिमा छोरीको महत्त्व र इज्जत बढी उच्च हुने गर्दछ ।
उता बिहे गरेर गएका चेलीहरूले भने सगराँतको दिउँसो देखी साँझ सम्ममा दाजुभाइ वा बुवा आमा जो कोही पनि माइतबाट आफूलाई पुज्न आउने पर्खाइमा बसेका हुन्छन् । र माइतबाट जो आए पनि उहाँहरूको लागी भनेर उसले सक्ने सम्मका खाने कुराहरू साँधेर राखेकी हुन्छन् । त्यसरी नै माइतीले पनि घरमा जे जे उपलब्ध छ जे सकिन्छ सबै चिजहरूको अगरास् तयार पारेर लग्दिएका हुन्छन् । वर्षमा एक पटक आउने माघेसगराँतमा गाउँमै रहेर पनि, सकुशल रहेर पनि बिहे गरेर गएका छोरी चेलीलाई पुज्न गइएन भने माइती चेली बिचको सम्बन्ध नराम्रो भएको भनेर बुझ्न सकिन्छ ।
तारा हान्ने संस्कार
चेली पुज्ने कार्य सकिए पछि सगराँतकै दिन देखी तारा हान्ने मेला सुरु हुन्छ । हरेक गाउँको तारा हान्ने आफ्नो निश्चित स्थल तोकिएको हुन्छ जसलाई मगर खाम भाषामा 'स्ताखोला' भनिन्छ स्ता: तारा, खोला: तारा थाप्ने स्थल । पौष १२ देखि माग्न सुरु गरिएका र दुई तिन झोलामा भरिएका टालाेहरूलाई धेरै टोल भए टोल अनुसार नत्र एकमुस्टमा पालैपालो तारामा थापेर हान्न सुरु गरिन्छ । तारामा टालाेहरू मात्रै होइनन् दर्पण (ऐना) हरू पनि थापिएका हुन्छन् । गाउँभरिका केटा देखी नेता सम्म यो तारा हान्ने मेलामा भाग लिन्छन् । हरेक टालाेमा टालाेवाली युवतिको नाम लेखिएको हुन्छ । यति धेरै पुरुषहरूले बर्साएको मुइँ (वाण) ले पनि नलाग्ने टालाेवाली युवतिको पहिचान गरिन्छ र ती युवतिको तत्काल बिहे नहुने थाहा भयो भनेर जिस्काउने चलन छ । भने लगातार मुइँ रोपिने गरेको टालाेवालीलाई निकट समयमै बिहे गरेर जाने पक्का भो भनेर जिस्काउने चलन छ । युवतिहरू पनि तारा हान्ने मेलामा पुगेर आफ्नो टालाे मर्छ या मर्दैन हेरेर रमाइलो लिइरहेका हुन्छन् । मन परेको मान्छेले आफ्नो टालाेमा निशाना लगाइदिए खुसीले उनीहरूको सीमारेखा रहँदैन । मुइँ लागेको टालाेलाई मरेको र नलागेकोलाई नमरेको भन्ने मान्यता छ ।
तारोमा सही निसाना लगाएर आफ्नो मुइँ रोप्न सफल हुने पुरुषलाई बोकेर गाउँभर डुलाइन्छ । खास गरी ऐनामा निशाना लाउन सक्नेहरूलाई झन् बढी उचालिन्छ, होहल्ला गरिन्छ । अन्ततः निशाना लाउनेले एक निसाना बराबर एक धार्नी जाँड वा एक बोतल रक्सी दान गर्नु पर्ने हुन्छ ! यो क्रम ७/८ दिन सम्म चल्छ । चर्चित खुश्मा चलचित्रमा मगर जातिको यही तारा हान्ने संस्कारलाई केही मात्रामा देखाउने कोसिस गरेको देखिएको थियो ।
डिग्र्या नाच, झोला नाच
तारा हान्नेहरू हानिरहन्छन् भने नहान्नेहरू अर्को तिरको मैदानमा गोलो घेरामा दमाहा बजाएर डिग्र्या नाच नाच्ने सुरु गर्छन् । डिग्र्या नाच भूमे नाचकै पर्याय हो । हुकाम मैकोटमा भूमे नाच भनिँदैन डिग्र्या नाच भनिन्छ । डिग्र्यामा महिला पुरुष केटाकेटी बालक वृद्ध सबै नाच्न सक्छन् । भने आमा समूहहरूको झोला नाच छुट्टै चलिरहेको हुन्छ । आदिम कालको कुनै किंवदन्ती कहानीलाई भजन गीतको लयमा निकै भावना डुबेर व्यक्त गर्दै, गाउँदै गुरुआमाको ताल र लयमा मिलेर नाचिने झोला नाच पछिल्लो समय लोपोन्मुख बन्दै छ ।
खण्ड खण्डमा छुट्टाएर लेखिएको यति लामो लेख पडिसकेपछि मगर जातिहरूले माघेसगराँतलाई किन मौलिक र महान् पर्व मान्ने गर्छौँ ? भन्ने कुरा प्रस्ट सँग बुझ्नु भयो होला भन्ने लागेको छ । यद्यपि यो लेखले माघे पर्वको पुरै अन्तरकुन्तर र इतिहासलाई उठाएरै ल्याएको भन्ने भनाई चैँ होइन । यो कुनै ठुला इतिहासविद्बाट लेखिएको खोजमूलक ऐतिहासिक लेख पनि होइन । बरु मगर जातिहरूको मूल उत्पत्ति भूमि मानिएको रुकुम पूर्वको मैकोट र हुकाम क्षेत्रमा पुर्खादेखि प्रचलनमा रहेको प्रचलित माघेसगराँत सँग सम्बन्धित मान्यता, विधि, पद्धति र जनविश्वासहरूलाई पस्केर माघेसगराँत मगरहरूको महान् पर्व हो भन्ने तर्कलाई अझै बलियो बनाउने कोसिस गरिएको चैँ हो ।