Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय योग दिवसको अवसरमा रुकुम पश्चिममा योग अभ्यास 

रुकुम पश्चिममा पनि १० औँ राष्ट्रिय योग दिवस मनाइएको छ । दिवसको अवसरमा मुसिकोट आयुर्वेदिक स्वास्थ्य  केन्द्र परिसरमा योग अभ्यास कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई करिब डेढ घण्टा योग अभ्यास गराइएको थियो ।

सहभागीहरूलाई चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी शरद थापाले योग अभ्यास गराउनुभएको थियो  । आयुर्वेदिक स्वास्थ्य केन्द्र रुकुम पश्चिमले कार्यक्रम आयोजना गरेको आयुर्वेदिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन प्रकाश गिरीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर महेन्द्र केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी विनाेद रेग्मी, आयुर्वेदिक स्वास्थ्य केन्द्रका डाक्टर रेखा पाैडेल तथा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ आज देशभरमा राष्ट्रिय योग दिवस मनाइएको छ । 

योगको महत्वबारे सबैलाई थाहा दिने उद्देश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगलाई विज्ञानको रूपमा मान्न थालिएको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग हुने योगका जानकारहरू बताउँछन् । 

योग गुरुहरूका अनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रियसँगै शरीरका विकारहरू क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँ ठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update