Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजारमा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न के के भयो निर्णय ?
खलंगा बजार

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा हुने गरेको अवस्थित पार्किङलाई व्यवस्थापन गर्न विभिन्न निर्णय गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायिहरुलाई बाेलाएर बैठक बसी पार्किङ व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न निर्णय गरिएको हो । बागबजार, त्रिवेणी चोक र पातुखोला बजार क्षेत्रमा जथाभावी पार्किङका कारण सडक जाम हुने गरेकाले पार्किङ व्यवस्थित गर्न यातायात व्यवसायिसँग छलफल गरी विभिन्न निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाको यातायात व्यवस्थापनका सम्बन्धमा यसअघि बसेका बैठकहरूको समीक्षा गर्दै सोको प्रभावकारी कार्यान्वयन गर्ने, यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायीको समन्वयमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय भएको छ । त्यस्तै खलंगा बजार क्षेत्रमा विभिन्न यातायात प्रालिका टिकट काउन्टर तथा जथाभावी सवारी साधन पार्किङका कारण सडक जाम हुने गरेको हुँदा मुख्य बजार क्षेत्र मठ देखि सेरिगाउँमा सञ्चालित टिकट काउन्टर तत्काल हटाई सल्ले र सेरीगाउँमा संचालन गर्ने निर्णय गरिएकाे प्रजिअ जिसीले जानकारी दिनुभयो । यसका साथै सवारी साधनको पार्किङ स्थलपनि तोकिएको छ । 

खलंगा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागि ठूला सवारी साधन सल्ले बसपार्कमा, हलुका सवारी साधन (जिप, भ्यान, हायस) पुरानो फोहोर सङ्कलन केन्द्र रहेको शिव मन्दिर छेउ परिसरको जग्गामा पार्किङ गर्नुपर्ने छ । अटो तथा ईभि गाडी जिल्ला हुलाक कार्यालयको दक्षिण–पश्चिममा रहेको मुसिकोट नगरपालिकाले व्यवस्थापन गरेको जग्गामा पार्किङ गर्नुपर्ने छ । 

अटो तथा इभि गाडी लाइनको आधारमा जिल्ला अदालत अगाडीको सडकमा २, त्रिवेणी चोकमा तीन र बागबजार प्रहरी पोष्ट अगाडी ३ वटा अटो तथा ईभि गाडी अस्थायी पार्किङ्ग गर्न र यात्रु चढाउन पाइने छ । यसका साथै जिल्लाको समग्र यातायात व्यवस्थापनका सम्बन्धमा समीक्षा गर्न हरेक हप्ताको सोमबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयको नियमितबैठक बस्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले  जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update