रुकुम पश्चिमका सबै स्थानीय तहमा मास्क वितरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले सम्बन्धित स्थानीय तहमा पुगेर मास्क प्रदान गर्नुभएको हो । चौरजहारी नगरपालिका, सानीभेरी र त्रिवेणि गाउँपालिका समन्वय प्रमुख आफै पुगेर ८/८ हजारका दरले मास्क प्रदान गर्नुभएको हो ।
मुसीकोट र आठबीसकोट नगरपालिकाले आफै मास्क लिएका छन् भने बाँफिकोट गाउँपालिकाले मास्क लैजान बाँकी छ । सर्वसाधारणलाई निःशुल्क वितरणका लागि मास्क प्रदान गरिएको समन्वय प्रमुख शर्माले बताउनुभयो । मास्कको साथमा पिपिई सेट पनि प्रदान गरिएको छ । व्यापक बन्दै गइरहेको कोरोना रोकथाम, नियन्त्रण, नियन्त्रण तथा उपचारमा सहज होस् भनेर मास्क वितरण गरिएको शर्माले बताउनुभयो ।
केही समय अघि प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले ति स्वास्थ्य सामग्री जिल्ला पठाउनुभएको थियो । नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र कारागारमा पनि मास्क प्रदान गर्ने तयारी छ । नगर तथा गाउँपालिकाको साथै फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई पनि मास्क वितरण गरिने शर्माले जानकारी दिनुभयो ।