Kakhara सबैको खबर सम्पूर्ण खबर
कुनाखेत घटना: चार जना पुर्पक्षका लागि कारागार चलान 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकामका लीलाबहादुर घर्तीको हत्या आरोपमा पक्राउ परेका चार जनालाई रुकुम पश्चिम अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । हत्या आरोपमा पक्राउ परेका मुसिकोट नगरपालिका वडा नम्बर १ छिङका गोविन्दराज मल्ल, अजय मल्ल, दिनेश मल्ल र सञ्जु मल्ललाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको इजलासले यस घटनामा आरोपीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै कारागार चलान गरेको हो । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा लागेको कुनाखेत मेला हेर्न गएका घर्ती पुष १ गते मेला स्थल नजिकै मृत फेला परेका थिए । 

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली समेत खटिएको थियो । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका घर्ती रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका वडा नम्बर १ मा बस्दै आएका थिए ।

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update