रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका बाढीपीडितलाई जिविकोर्पाजको लागि नगद आर्थिक सहयोग गरिएको छ । बिहीबार नगरपालिकाको कार्यालय राडीमा एक कार्यक्रमको आयोजना गरी बाढीपीडित दश जनालाई नगद आर्थिक सहयोग गरिएको हो । आइपास नेपालको आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा दश जना बाढीपीडितलाई ३० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको आठविसकोट नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीपीडित मध्येपनि अति विपन्न परिवारलाई छनोट गरेर जिविकोपार्जन अत्तरर्गत बाख्रापालनको लागि नगद रकम सहयोग गरिएको हो । ‘‘बाढीपीडित त्यस्तैमा पनि अति विपन्न परिवारलाई बाख्रापालन गरेर जिविका चलाउन सहज होस भनेर नगरपालिकाले छनोट गरेर पठाएको थियो, सोही आधारमा आइपास नेपालले आर्थिक सहयोग गरेको हो’’ उपप्रमुख शाहीले भन्नुभयो । विपन्न परिवारलाई केही मात्रमा भएपनि बाखा्रपालन गरेर जिविका चलाउन सहज होस भन्ने अपेक्षा नरपालिकाको लिएको उहाँले बताउनुभयो ।
नगद आर्थिक सहयोग प्राप्त गर्नेमा वडा नम्बर ४ बाट बलबहादुर शाही, गजबहादुर शाही, वडा नम्बर ७ बाट डिल्ला मल्ल, वडा नम्बर १० बाट हरिबहादुर दमाई, अजय रोका, लले कामी, वडा नम्बर ११ बाट तुलसिंङ ठकुरी, चन्द्रकली कामी र १२ नम्बर वडाबाट नन्दी सार्की र ललिता सार्की हुनुहन्छ ।
आठविसकोट नगरपालिकाले यस अघीपनि बाढी प्रभावित तथा भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरी किसानको लागि बाख्राखोर निर्माणको काम सम्पन्न गरिसकेको जनाएको छ । पालिकाको विभिन्न वडामा नगरपालिकाको आर्थिक सहयोगमा २ सय ६० बाख्राखोर निर्माण भएका छन् । बाख्राखोर निर्माण गर्न नगरपालिकाले प्रत्येक किसानलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।
नगद आर्थिक सहयोग गरेको आइपास नेपालले जिविकोर्पान, भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोग, स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग लगायतका काम गर्दै आएको छ ।