आँखाको नानी पानीले डुब्यो झलझली हेरेर
देखेको रूप मधुरो भयो बत्ती झैँ मरेर
के जादु गर्यो त्यो तिम्रो रूपले यी मेरा आँखालाई
मोहनी मन्त्र लगाइ तन्त्र मै माथि सरेर
प्रिय प्यारो मान्छे छोटो जीवनको लामो सम्झना, उजाड र उराठ यो मरुभूमिको अनकन्टार ठाउँबाट । सर्वप्रथम तिम्रो दीर्घायुको कामना गर्दछु । जिन्दगीको आरोह अवरोहमा धेरैसँग परिचय भयो धेरैसँग मित्रता गाँसियो । कसैलाई असल मित्रता भन्दा बढी बनाउन नै सकिएन । जब तिमीलाई देखेँ, तिमीसँग भेट भयो, अचम्म लाग्छ पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येक सासभित्र तिम्रै सुगन्धको आभास गरे । मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे, अनि तिमीसँगको साथको कल्पना गरे, अनि तिमीसँगको साथको कल्पना गरेको थाहा नै भएन । एक्कासि कसैको आवाजले झस्कायो यस्तो किन हुन्छ ? मन मनै आफूले आफैलाई प्रश्न गरे । मेरो मनले भन्छ तिमीलाई माया भयो, मेरो मस्तिष्क बोल्छ तिमीलाई प्रेमले छोयो ।
नत मेरो मन मस्तिष्क र ढुकढुकीलाई नै नकार्न सके नत मेरा यी आँखालाई नै बन्द गर्न सके । त्यसैले भन्छु मलाई साँच्चै माया भयो । म तिमीलाई माया गर्छु । यद्यपि चोखो माया अनि निस्वार्थ प्रेम गर्छु भनेर तिमीसँग भन्न सक्दिनँ वा भनौँ म मा त्यो सामर्थ्य नै छैन । हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । मलाई लाग्छ तिमीलाई चाहनु नै मेरो ठुलो स्वार्थ हो । किनकि एउटा स्वतन्त्र रूपमा बगैँचामा फुलिरहेको फुलमा भमराले छड्के आँखा लगाउनु र उसको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दा परको कुरा त नहोला । तिम्रो स्वतन्त्रतालाई लत्त्याएर तिमीसँग जिउन चाहने रहर राख्नु , तिम्रो एक्लो जीवनमा आफ्नो सुख दुख बाँड्न खोज्नु मेरो स्वार्थ होइन भनेर भन्न सक्दिनँ ।
तर मेरो स्वार्थ अरू प्रेमी प्रेमिकाको जस्तो होइन उनीहरूको भन्दा पृथक् छ र उच्च छ जस्तो लाग्छ । हुन त प्रत्येक प्रेमीहरू यस्तै भन्लान् तर मैले अघि नै भनी सके कि म अरू प्रेमी भन्दा पृथक् छु भनेर किनकि मेरो प्रेम शारीरिक आकर्षण होइन, अन्तर आत्मादेखि उब्जिएको उपज हो । हुन त सायद तिमिले प्रमाण खोज्यौ भने मैले तिमीसँग शिर झुकाउनु बाहेक अरू विकल्प मसँग छैन । मेरा प्रेमका ठोस प्रमाण छैनन् । नाडी रेटेर रगत बगाउने अनि प्रत्येक पाइला पाइलामा पैसाको वर्षा गराउने औकात मसँग छैन । या भनौँ म भन्दा धेरै माथिको कुरा हो त्यसैले तिमीले मलाई माया गर्छौ या मेरो प्रेममा विश्वास गर्छौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मसँग नजिक छ ।
म तिमीलाई सच्चा र निस्वार्थ हृदय देखि नै माया गर्छु । यसको मतलब यो होइन कि तिमी पनि मलाई माया नै गर्नु पर्छ । यदि तिमिमा म प्रति माया छ भने अपनाउन सक्छौँ यदि छैन भने मेरो भन्नु केही छैन । तर मलाई आस छ तिमीले स्विकार्ने छौँ । यदि तिमिले मेरो मायालाई जति घृणा र तिरस्कारका वाणी रूपी शब्दले प्रहार गरे पनि मेरो कुनै गुनासो रहने छैन । किनकि म तिमीलाई स्वच्छ र नि:स्वार्थ प्रेम गर्छु । तिमी प्रतिको मेरो चाहाना र प्रेम जबसम्म यो धर्तीमा रहन्छु तब सम्म कहिले अस्ताउने वा बिलाउने छैन, किनकि म तिमीलाई सच्चा हृदय देखि प्रेम गर्छु ।
मेरो मतलब यो होइन कि तिमी मेरो जीवनमा आइनौ भने म तड्पिने पागल प्रेमी चाहिँ म पक्कै पनि होइन तर तिमी जसको भए पनि मेरो हृदयमा बास बसेकीले वा भनौँ मेरो पहिलो प्रेम तिमी सँग भएकोले मेरो माया तिमीप्रति कहिले घटने छैन । त्यसैले प्रिय ....... मेरो प्रेम प्रस्ताव पछि तिम्रो जवाफको आस गर्दै तिमीबाट आजलाई ओझेल पर्छु, उही तिमीलाई माया गर्ने हजारौँ मध्येको एक किरण राना मगर नुवाकोट, रुकुम पश्चिम ।