Kakhara सबैको खबर सम्पूर्ण खबर
महिला विश्वकप क्रिकेटः नेपाल बङ्गलादेशसँग पाँच विकेटले  पराजित
फालइ फाेटाे ।

आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।  

बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक÷एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन÷तीन रन बनाउँदा  रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।

बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् । 

आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update