Kakhara सबैको खबर सम्पूर्ण खबर
पापिनी मेला: पिपिएम कप भलिबल सहित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा परम्परागत पापिनी मेलाको अवसरमा यस वर्ष पनि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएका छन् । यो वर्षको पापिनी मेला माघ १० गतेबाट सुरु हुँदै छ । स्थानीय हाम्रो सरोकार ‘शिक्षा, स्वास्थ्य, पर्यटन र समग्र गाउँ विकासको लागि माघ–घुमौँ रुकुम साँख’ भन्ने नाराका साथ यो वर्षको मेलालाई भव्य बनाउने तयारी जुटेको छ । हाम्रो सरोकारले केही वर्ष देखि मेलालाई भव्य र मर्यादित बनाउने प्रयास गरेको छ । 

यो वर्ष मेलाको अवसरमा पहिलो पिपिएम कप महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला, रुकुम पूर्व र रोल्पाका टिम सहभागी हुन पाउने गरी शुद्ध वडा स्तरीय पिपिएम कप महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हाम्रो सरोकारका अध्यक्ष रिजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको अवसरमा भलिबल सहित पुरुष डबल ब्याडमिन्टन, महिला पुरुष रसाकसी प्रतियोगिता आयोजना गरिएको छ । 

त्यस्तै सांस्कृतिक कार्यक्रम तर्फ लोक दोहरी, मयुर नाच, पैसेरु नाच, सिँगारु नाच लगायत लोपोन्मुख स्थानीय संस्कृति तथा कलालाई प्रतिस्पर्धा गराइने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । पुरुष भलिबल तर्फ विजेता टिमले १ लाख १ हजार नगद, कप, मेडल र प्रमाण पत्र पाउँदा उपविजेता हुने टिमले ७१ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उहाँको भनाई छ । तृतीय हुने टिमले भने नगद ४१ हजार, मेडल र प्रमाण पत्र पाउने बताइएको छ । टिम दर्ता शुल्क ९ हजार तोकिएको छ । 

महिला तर्फको विजेताले १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १० हजार तथा तृतीय हुने टिमले ५ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । महिला तर्फको दर्ता शुल्क १५ सय कायम गरिएको छ । पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले २० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता जोडीले १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक हाम्रो सरोकारका महासचिव प्रकाश विकले जानकारी गराउनुभयो । दर्ता शुल्क २ हजार तोकिएको छ । 

papini-nach-toli-1737197799.jpg
महिला पुरुष रसाकसी तर्फको प्रथम पुरस्कार २ हजार र द्धितिय पुरस्कार १५ सय तथा लोक दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार ३ हजार र तृतीय पुरस्कार २ हजार राखिएको छ । त्यस्तै अन्य सांस्कृतिक कार्यक्रम तर्फ उत्कृष्ट हुने समूहहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको महासचिव विकले बताउनुभयो । मेलालाई भव्य बनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्षका साथ तयारी भइरहेको उहाँको भनाई छ । 

पापिनी मेला परापूर्व काल देखि नै लाग्दै आएको स्थानीय अगुवाहरूको भनाई छ । मेलाको मुख्य आकर्षण केटी केटीकै बिचमा हुने नाटकीय विवाह हो । १४ गते साँझ बेहुली माग्न जाने, १५ गते साँझ बेहुलीलाई धूमधाम अन्माएर पठाउने र १६ गते मेला लागेर सकिने गर्दछ । तर मेलाका अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम भने केही अघि बाटै सुरु हुन्छन् । साँख दह तलिगाउँ र माथिगाउँका केटी केटीका बिचमा बर्सेनि पालो पालो विवाह गराइदिने प्रचलन छ । 

केटीलाई नै बेहुली र बेहुला बनाएर एक वर्ष तलिगाउँको बेहुला र माथि गाउँकी बेहुली तथा अर्को वर्ष तलिगाउँकी बेहुली र माथि गाउँको बेहुला बनाएर विवाह गराइदिने प्रचलन परापूर्व काल देखि छ । साँखमा मानव बस्ती सुरु भए देखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरूको भनाई छ । 

papini-volleyball-1737197800.jpg 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update