रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ लामाचौरमा आयोजित महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पाँच दिन सम्म सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हाे । माघी पर्वको अवसरमा वडामा रहेको प्रगतिशील युवा क्लवले विविध कार्यक्रम आयोजना गरेकाे थियाे ।
पुरुष भलिबल तर्फ ११ टिमले प्रतिस्पर्धा गरेकामा आयोजक ए प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा बाँफिकोट ४ लाई ३/१ को सेटमा पराजित गर्दै आयोजक ए प्रथम भएको हो । प्रथम भएको आयोजकले नगद ४३ हजार रुपैयाँका साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको बाँफिकोट ४ ले नगद ३० हजार तथा तेस्रो भएको बाँफिकोट ८ ले नगद २० हजार रुपैयाँका साथमा कप मेडल प्रमाण पत्र हात पारेको क्लवका सचिव बाबुराजा नाथले जानकारी दिनुभयो।
महिला भलिबल प्रतियोगिता तर्फ आयोजक ए प्रथम भएको छ । आज भएको फाइनल खेलमा मा आयोजक बी लाई ३/१ को सेटमा पराजित गरेर आयोजक ए प्रथम भएको हो । प्रथम भएको आयोजक ए ले नगद ११ हजार, दोस्रो भएको आयोजक बी ले नगद सात हजार तथा तेस्रो भएको रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले नगद पाँच हजार रुपैयाँका साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै मेलामा घैंटो फोर प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा विजेता भएका सोही वडाका आशिष परियारले नगद एक हजार रुपैयाँ पुरस्कारको साथमा प्रमाण पत्र पाएका छन् । मेलामा झाँकी सहित सहभागी हुने दश वटा सांस्कृतिक समूहलाई पनि सम्मान गरिएको क्लवका सचिव नाथले जानकारी दिनुभयो । मेलामा स्थानीयले उत्पादन गरेका कृषि उपजलाई प्रदर्शन गरी ११ जना कृषकलाई सम्मानपत्र समेत सम्मान गरिएको थियाे । आज एक कार्यक्रमका बिच खेलकुद प्रतियोगिताको समापन गरिएकाे हाे ।