रुकुम पश्चिममा तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दुई चरणमा ५ विधामा प्रतिस्पर्धा गराउने गरी जिल्ला ब्याडमिन्टन सङ्घले प्रतियोगिता गर्दै छ । सङ्घले यसअघि दुई वटा संस्करण गरिसकेको छ । तेस्रो संस्करणलाई भव्य बनाउने र ५ वटा विधामा खेलाउने निर्णय भएको सङ्घका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।
पहिलो चरणमा फागुन ९, १० र ११ मा अल नेपाल खुला पुरुष डबल (र्यांकिङ खेलाडी बाहेक) र रुकुम पश्चिम जिल्लाको खुला पुरुष तथा महिला डबल गरी ३ विधामा प्रतिस्पर्धा हुने उहाँको भनाई छ । त्यस्तै दोस्रो चरणमा चैत्र रुकुम पश्चिम जिल्ला स्तरीय १७ वर्ष मुनिको पुरुष सिङ्गल र कर्णाली प्रदेश खुला पुरुष डबल विधामा प्रतियोगिता हुने अध्यक्ष बुढाले बताउनुभयो ।
पहिलो चरणमा हुने अल नेपाल खुला ब्याडमिन्टनको विजेता जोडीले ५२ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता जोडीले ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीलाई समान ११/११ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
रुकुम पश्चिम जिल्ला स्तरीय खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले ३० हजार र उपविजेता जोडीले २० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीले समान ५/५ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेता जोडीले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना जोडीले समान ३÷३ हजार पुरस्कार पाउने जिल्ला ब्याडमिन्टन सङ्घका सचिव विशाल विष्टले जानकारी दिनुभयो ।
दोस्रो चरणमा हुने कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेताले ३२ हजार, उप विजेताले २० हजार र सान्त्वना हुने दुई जोडीले समान ६/६ हजार पुरस्कार पाउने सचिव विष्टले बताउनुभयो । दोस्रो चरणमै हुने रुकुम पश्चिम जिल्ला स्तरीय १७ वर्ष मुनिको पुरुष सिङ्गल ब्याडमिन्टनको विजेताले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना हुने दुई खेलाडीले समान ३/३ हजार पुरस्कार पाउने छन् ।
ब्याडमिन्टन जिल्ला सदरमुकाम स्थित बराहटाकुरा मिनी कबर्ड हलमा हुने जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ । जिल्लाको ब्याडमिन्टन विकासका लागि सङ्घले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्येको एक महत्त्वपूर्ण इभेन्ट याे प्रतियोगिता हो । यस प्रतियोगिताले जिल्लाकाे पर्यटन प्रवर्द्धन र व्यवसायमा समेत टेवा पुग्ने विश्वास गरिएकाे छ ।