रुकुम तेक्वान्दाे संघलाई खेल सामग्री सहयोग प्राप्त भएको छ । ज्याकी चेन नामबाट चर्चित तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी गाेरखाका टेकप्रसाद गोतामेले विभिन्न खेल सामग्री सहयोग गर्नुभएको हो । रुकुम पश्चिममै पुगेर उहाँले संघलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
गोतामेले रुकुम तेक्वान्दाे संघका अध्यक्ष भद्र खड्कालाई सामग्री हस्तान्तरण गर्नुभयो । चेस्ट प्याड ४ पिस, हेड गार्ड ४ पिस, किक प्याड ४ पिस गरेर २५ हजार बराबरका खेद सामग्री प्राप्त भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
गोतामेले नेपाल आर्मीबाट तेक्वान्दोका विभिन्न राष्ट्रिय खेल खेलिसक्नुभएको छ । उहाँ हाल कतारमा बस्दै आउनुभएको छ । सक्रिय खेल जीवनबाट टाढा रहे पनि खेलकुदसँग नजिक रहेको गोतामेले बताउनुभयो । खेलकुदकै माध्यमबाट धेरैको बिचमा परिचित रहन पाउँदा गर्व लाग्ने गरेको उहाँले बताउनुभयो ।
तेक्वान्दो मात्र नभई हरेक खेललाई सहयोग गर्दै आएको उहाँको भनाई छ । खेलाडीको पीडालाई नजिकबाट महसुस गरेकोले सकेको सहयोग गरिरहेको उहाँले बताउनुभयो । भोलीका दिनमा समेत सहयोगलाई जारी राख्ने उहाँले प्रतिवद्घता जनाउनुभयो । आफ्नै आधा पारिश्रमिक कटाएर व्यक्तिगत लगानीमा खेलाडीलाई सहयोग गर्ने गरेको बताउँदै उहाँले कर्णालीका १० वटै जिल्लामा खेल सामग्री सहयोग गर्ने योजना सुनाउनुभयो ।
खेल सामग्री सहयोग गरेर ठुलो गुण लगाएको भन्दै रुकुम तेक्वान्दो संघले गोतामेलाई धन्यवाद समेत दिएको छ ।