रुकुम पश्चिम र जाजरकोटमा २६ वटा नमुना घर निर्माण भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बेलायत सरकारको सहयोगमा ५ वटा संयुक्त राष्ट्र सङ्घीय निकाय तथा तिनका साझेदार संस्थाहरू मार्फत सञ्चालित संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत २६ वटा घरहरू निर्माण गरिएको हो । रुकुम पश्चिममा १४ र जाजरकोटमा १२ वटा घरहरू निर्माण गरिएको संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का सिनियर प्रोजेक्ट एशोसिएट सुजित गौतमले जनाकारी दिनुभयो ।
रुकुम पश्चिमका आठबिसकोट नगरपालिकामा ७, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा २/२ वटा, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा १/१ वटा नमुना घर निर्माण गरी भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै जाजरकोटका भेरी नगरपालिकामा ४, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा २ तथा शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा १/१ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा ढुङ्गाको र बाँकी सबै घर सिएसइबी इन्टरलक इट्टाको प्रयोगमा निर्माण गरिएको छ ।
अतिविपन्न, अपाङ्ग, दलित तथा सीमान्तकृत समुदायका भूकम्प प्रभावितका लाग नमुना घर निर्माण गरिएको आइओएमका सिनियर प्रोजेक्ट एसोशिएट गौतमले बताउनुभयो । यो परियोजना अन्तर्गत घर निर्माण बाहेक डकर्मी तालिम, यौन शोषण तथा दुर्व्यवहार विरुद्धको सडक नाटक प्रदर्शन, स्थानीय तहका प्राविधिकका लागि भवन संहिता, सुरक्षित आवास सम्बन्धी तालिम प्रदान, मोबाइल भ्यान तथा रेडियो र टेलिभिजनबाट सचेतना फैलाउने, स्थानीय तहलाई विपत् व्यवस्थापन सम्बन्धी नीति निर्माणमा सहयोग लगायतका काम समेत भएका बताइएको छ ।
९ महिने यो परियोजना यही जनवरी अन्तिमबाट सकिने छ । परियोजना मार्फत भएका गतिविधि तथा सिकाइबारे जानकारी गराउन रुकुम पश्चिमको मुसिकोट खलङ्गामा आइओएमले जिल्ला स्तरीय सिकाई कार्यशाला आयोजना गरेको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी, भूकम्प प्रभावित लाभग्राही, तथा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लाभग्राही भूकम्प प्रभावितले नमुना घर आफूहरूको सहारा भएको बताएका छन् । भूकम्पले भएको घर भत्काएको, त्यसमै परिवारका सदस्य समेत गुमाएको र अब आफैले घर निर्माण गर्ने अवस्था नभएकामा नमुना घर पाएपछि भूकम्प प्रभावितले खुसी व्यक्त गरे । सानीभेरी गाउँपालिका ४ का गोपाल...ले श्रीमती र छोरालाई भूकम्पमा गुमाउँदाको पीडा नमुना घर पाउँदा केही हदसम्म कम भएको बताउनुभयो ।
परियोजनाको समग्र बारेमा आइओएमका नेपाल प्रमुख हेलेन फोर्सले जानकारी गराउनुभएको थियो भने परियोजना मार्फत जिल्लामा भएका समग्र गतिविधिका बारेमा आइओएमका सामाजिक परिचालन सहायक कमल महतले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन आइओएमका इन्जिनियर विकास न्यौपानेले गर्नुभएको थियो ।