रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार क्षेत्रको अव्यवस्थित पार्किङ सुधार हुँदै गएको निष्कर्ष निकालिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवस्थापनका सम्बन्धमा बसेको बैठकले बजार क्षेत्रको पार्किङ सुधार हुँदै गएको निष्कर्ष निकालेको हो । गत माघ १ गते जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका र यातायात व्यवसायी बिच सेरिगाउँ देखि मठसम्म अव्यवस्थित पार्किङ व्यवस्थापन गर्ने निर्णय भएको थियो ।
सोही निर्णय कार्यान्वयनको अवस्थाका बारेमा आज जिल्ला प्रशासनमा समीक्षात्मक बैठक बसेको हो । बैठकले यसअघि भएका निर्णयहरूको समीक्षा गर्दै मुसिकोट बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार भएकाले यसलाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले हलुका सवारी साधन (जिप, भ्यान, हायस, आदि) पार्किङको लागि पुरानो फोहोर सङ्कलन केन्द्र रहेको शिव मन्दिरको माथि तथा प्रहरी विट अगाडिको स्थान, बागबजार तथा सेरिगाउँमा उपयुक्त स्थानको खोजी गरी सुचारु गर्न मुसिकोट नगरपालिकाले थप अग्रसरता लिने निर्णय भएको छ ।
त्यस्तै नयाँ बसपार्क सञ्चालन गर्न पहुँच मार्गको समस्या देखिएकोले मुसिकोट नगरपालिका र सहरी विकास तथा भवन डिभिजन कार्यालयले सहकार्य गरी तत्काल कार्यान्वयन गर्ने, सडक ट्राफिक फर्निचर (चेकिङ बोर्ड, म्याजिक लाइट, ह्वील लक र फ्लोरोसेन्ट ज्याकेट आदि) को आवश्यकता अनुसार मुसिकोट नगरपालिकाले व्यवस्थापन गर्ने र अन्य सरोकारवाला निकायले आवश्यक सहयोग गर्ने निर्णय भएको प्रजिअ जिसीले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा ट्राफिक नियम उल्लंघन हुनसक्ने स्थानमा सिसिटिभी जडान गर्न मुसिकोट नगरपालिका र सडक डिभिजन कार्यालय चौरजहारीलाई अनुरोध गर्ने पनि.निर्णय भएको छ । बजार क्षेत्रको समग्र यातायात व्यवस्थापनको समीक्षा गर्न हरेक महिनाको १० गते र आवश्यकताअनुसार जुनसुकै समयमा समन्वयात्मक बैठक बस्ने व्यवस्था मिलाउने निर्णय समेत भएको प्रजिअ जिसीले जानकारी दिनुभयो ।
गत माघ १ गतेदेखि बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन भएसँगै बागबजारदेखि मठसम्मको बजार क्षेत्रमा पार्किङ गर्न दिएको छैन भने सडक छेउछाउमा रहेका निर्माण सामग्री तथा व्यापारिक सामान समेत हटाएको छ । निर्णयको बेवास्ता र जथाभाबी पार्किङ गरेको पाएमा नियम अनुसार कारबाही गरिने समेत बताइएको छ ।