
पुछनीय पिण्डालु पण्डितजी
चोरऔँलाको प्रणाम ।
जुगौँपछि तैँले मलाई एकैचोटि एकमुठो पत्रहरू पठाएको रहिछस् । मेरो दारुण वृद्धावस्था देखेर टिठाएर पठाएको होलास् भनेर चौपट्टै खुसी हुँदै खाटबाट झटपट उठेँ । पत्र वाचन गर्दा खोकी नलागोस् भनेर सकीनसकी लामो खोकी खोकेँ र एक थुप्रो खकार फालेँ । दश ठाउँ च्यातिएको दौराले हातमुख पुछेँ । आँखा कामै नलाग्ने गरी बसेपछि चस्माका अक्षर ठुलो पार्ने सिसाहरू पनि खसिसकेका थिए । आँखाका सिसा र चस्माका सिसा त्यसपछि कहिल्यै काम आएको भए पो ! ती सिसाहरू खोजेर पुछपाछ पारेँ । मेरा यी खुट्टा भाँचिनु र चस्माका खुट्टा भाँचिनु सँगसँगै भएको थियो । त्यसपछि यो चस्माको गति र मेरो गति उस्तै उस्तै भयो । न त्यो उठ्न सक्यो, न मै उठ्न सकेँ । आफ्नै सुरुवालको इँजार चुँडाएर चश्माका खुट्टा तयार गरी कानमा झुन्ड्याएँ । आफ्ना यी खुट्टालाई डोरी लाएर कतै झुन्ड्याएर काम गर्न मिल्दैन क्यारूँ त पण्डित ।
आँखामा पावरवाला सिसा लगाउनेबित्तिकै कोठाको वरिपरि हेरेँ । कोठा झलमल्ल उज्यालो पो देखियो । रात परिसकेको होला भन्ठानेको त भर्खरै बिहान पो हुँदै रहेछ । चेत् सप्पै हराइसके । दिनरातको हेक्का नै छैन । क्यारूँ त पण्डित क्यारुँ ।
अनि तैँले पठाएको पत्रको मुठो खोलेर पहिलो खाम हेरेँ । खामबाहिर मेरो नाम लेखेको छस् कि भनेर उत्सुक हुँदै राम्रोसँग निज्याएर हेरेको त लेखेको रहिछस्: "तँ त अब बुढो भइस् ।"
थुक्क असत्ती काठा ! तैँले मलाई यो अशक्त वृद्धावस्थामा पनि गिज्याउन छोडिनस् हैन ? मेरा सन्तान, साथीभाइ र छिमेकीले त भन्थे, 'तँ बुढाको अब केही काम छैन । रामनाम जपेर सुत् ! जहिले काल आउला उहिल्यै उठ्लास्' । मैले सहेरै बसेको थिएँ । नसहेर पनि क्यार्नू त ? हात चल्दैनन्, लौरी छैन । तैँले समेत मलाई उल्ल्याउन छोडिनस् । अझ चिठ्ठी नै पठाएर उल्ल्याइस् । यो कलीजुगमा पापधर्म केही छैन भन्थे, बुढेसकालमा मात्र था भो । म बुढाको लागि यो समाजमा पापधर्म कतै बचेको रहेनछ पण्डित, कतै रहेनछ !
तँ पिण्डको पछि मात्र दगुर्ने पिण्डालु पण्डितबाट मैले राम्रो कुराको आश गर्नु नै बेकार थियो । मेरो जम्मै उत्साह स्याम्मै सेलाइहाल्यो नि । रिस उठेर तेरा सबै चिठ्ठीपत्र च्यातचुत पारेर फालिदिने झोँक चल्यो । थरथराउँदा हातले खाम मात्र च्यात्न सकेँ, पत्र भने मरिगए च्यात्न सकिनँ । यिनी गलिसकेका हातले के च्यात्नुपरेको होला यस्तो ? यिनी पहिल्यै फुटिसकेका आँखाले फेरि के देख्नु परेको होला यस्तो ?
मैले सहनसम्म त सहिसकेँ, अब सहन नै के बाँकी छ र ? अनि मुटु गाँठो पारेर हिम्मत गरेँ । तैँले जे जे लेखे पनि सहन्छु । तैँले लेखेको सप्पै कुरा पढ्छु । सकुन्जेल पढ्छु । पढिछाड्छु ।
अनि पत्रका हरफहरू निज्याई निज्याई पढ्न थालेँ । तैँले लयात्मक शैलीमा यस्तो लेखेको रहिछस्:
"वृद्धता कसैको रहर होइन । न त अशक्तता हो । न मान्छेको रोजाइ हो । तैपनि नचाहँदा नचाहँदै, नबिराईकन, यो ऊ नभनीकन, प्रत्येकले भोग्नुपर्ने यथार्थता हो वृद्धता । शिशुले बाल्यावस्थाको बोध गर्न सक्तैन । बालकले किशोरावस्थाको बोध गर्न सक्तैन । किशोरले युवावस्थाको बोध गर्न सक्तैन । युवाले प्रौढताको बोध गर्न सक्तैन । न त प्रौढहरूले वृद्धताको बोध गर्न सक्छन् । नपरून्जेल नभोगुन्जेल अरूलाई वृद्धताको वास्तविक अवस्था सुइँपत्तो हुँदैन । हुन त वृद्धता सृष्टिको यथार्थता हो । समाजको यथार्थता हो र जीवनको चक्र हो । तथापि प्रौढतापछिको वृद्धता र शारीरिक अशक्तता सबैको हेपाइको विषय बन्दछ । सबैको अवमूल्यन र प्रहारको विषय बन्दछ । फलत: प्रत्येक बस्तीका वृद्ध वृद्धाहरू तँ अब बुढो भइस् भनेर सम्बोधित हुन्छन् ।"
पृय पण्डित तैँले ठिकै त लेखेको रहिछस् । झन्डै मैले तेरो यति राम्रो पत्र च्यातेर मिल्काइदिएको । शरीर बुढो भए पनि झोँक पनि चल्छ, भोक पनि लाग्छ, शोक पनि लाग्छ, माया पनि त लाग्छ । तँ मेरो पण्डित मात्र कहाँ होस् र ? पडौसी पनि होस् । मनले खाएको मित्र पनि होस् । तैँले त मलाई सम्झाईबुझाई गरेर पो पत्र पठाएको रहिछस् । बित्थैमा तँलाई तथानाम गाली गरेछु । यो चिठ्ठीमा कतै कतै अक्षर मेटिएको पाउलास् । पानीले मेटिएको भन्ने नसम्झेस् । तेरो चिठ्ठी पढ्दै गर्दा बररर खसेका मेरा आँशुले भिजेका अक्षर हुन् यिनी । तेरो पत्र पढ्दा पढ्दै म निकै भक्कानिएँ पण्डित । त्यो भक्कानो म शब्दमा उतार्न सक्तिनँ क्यारूँ त ।
फेरि तेरो पत्र पढ्न बल गरेँ । लेखेको रहिछस्:
"हिजो को खाइ ? को खाइ गरेकाहरू मुस्किलले आज प्रत्युत्तरमा ला खा, ला खा गर्छन् । यस्तो को खाई ? को खाई र ला खा ला खा अस्ति उसले गर्यो । हिजो मैले गरेँ । समयक्रमसँग आज ऊ गर्दै छ । पर्दा फेरिन्छ निरन्तर । ऊ पनि भोग्छ यही परिणाम र यही यथार्थता । र, पछ्याउँदै जान्छ प्रत्येक युगमा प्रत्येक पिढीमा । यो टारेर नटर्ने, सारेर नसर्ने । अनि सब चिज गलाउने, भनसुनले नगल्ने । सब चिज ढलाउने, मलजलले नढल्ने । सब चिज डढाउने, आगाले नडढ्ने । विडम्बना छ यसको गति र त समयको अन्तरालमा सबैले पाउँछन् यो उपाधिः तँ अब बुढो भइस् ।"
वाफ् रे वाफ् पण्डित । हुन त तँ र म एउटै छाउँलीका हौँ । तैपनि तँ कति छिटै बुढिइछस् । भन्नुको मतलब कति धेरै पाको भइछस्, कति अनुभव सँगालिसकिछस् । मलाई पनि दुरुस्तै यस्तै भएको छ पण्डित दुरुस्तै । म त लेख्न पनि जान्दिन हेर् । जाने पनि लेख्न सक्तिन क्यारूँ त ।
तैँले लेखेको कुराले मलाई त ऊर्जा पो थप्यो । अलि सिधा भएर फेरि पढ्न थालेँ:
"को बुढो हुँदैन यहाँ ? सबै हुन्छन् । बिहान उदाएको घाम साँझ बुढो हुन्छ । बिहान फुलेको फूल मध्याह्न, अपराह्न हुँदै उही रातमा बुढो हुन्छ । साँझ उदाएको जून बिहान बुढो हुन्छ । रातमा उदाएका तारा रातमै बुढा हुन्छन् । जान्दा जान्दै यी यावत् कुरा जान्दा जान्दै सृष्टिको रहस्य उमेर पाक्दैमा, पाइला थाक्दैमा, शक्ति गल्दैमा, फुर्ती ढल्दैमा, अनि किन भन्नु अप्रिय बनेर तिनलाई 'तँ अब बुढो भइस्' ?"
साँच्चै भनिस् पण्डित । मनकै कुरा गरिस् तैँले । तेरा कुराले म त जुरुक्कै उठेँ र तेरो चिठ्ठी पढ्न थालेँ । थप लेखेको रहिछस्:
"डिंगो खौलो नपरी चेत्दैन भन्छन् । मान्छे पनि कम छैन । चेत्नलाई ऊ खौलो पर्नैपर्छ । नभोगेका कुरा कसलाई थाहा हुन्छ ? नदेखेको ठाउँ कसलाई थाहा हुन्छ ? भोगिन्छ र जानिन्छ, पुगिन्छ र भोगिन्छ । त्यस्तै हो मान्छेको वृद्धता । त्यस्तै हो वृद्धतापछिको अशक्तता ।"
"तैपनि मान्छे बुझ्दैन र, जति नै अप्रिय लागे पनि, जति नै तुक नभए पनि वृद्धोन्मुख मान्छेलाई ऊ एकोहोरो भनिरहन्छ: तँ अब बुढो भइस् । सम्झाएर कहिल्यै सम्झन्न मान्छे । त्यसैले त यो उपाधि 'तँ अब बुढो भइस्' अस्ति भने, हिजो भने, आज भन्दै छन्, भोलि भन्नेछन् र, पर्सि निपर्सितिर पनि मान्छेमा चेतना नआएसम्म निरन्तर यो भनिरहनेछन् ।"
"उसो त बुबाहरू पनि कम त कहाँ छन् र ! उनीहरूमा पनि अनुभवको अहं छ, पढाइ, लेखाइ र ज्ञानको अहं छ, वार्ता र सिपको अहं छ, सदाचारको अहं छ ! वरत्र र परत्र यत्रतत्रको सबैमा अब्बल देख्छन् उनीहरू आफूलाई । र त गन्दैनन् हत्तपत्त कसैलाई, गल्दैनन् हत्तपत्त कसैसँग ।"
ठ्याक्कै मेरै आँतको कुरा गरिस् पण्डित । लेख्न पनि कस्तो आएको के । तैँले राजधानी शहरमा पढ्न पाइस् र पो यतिका लेख्न सक्ने भइस् । हामी त रुकुमको कन्दरामा गोरुसँगै जन्मिएर गोरुसँग हुर्किएर गोरु बराबर भएका छौँ । क्यार्नू त । लेख्न जान्ने र सक्ने भइदिएको भए गुमुतमा पुरिँदाको कहानी मेरो पनि लेख्दो हुँ । सक्दिन क्यारूँ त ।
तैँले थप लेखेको रहिछस्:
"हर कुरामा जिताहा, हर प्रस्तावमा जिताहा । अनि मेरा गोरुको बाह्रै टक्का । वृद्धहरू यसैमा रमाउँछन् । उनीहरू परिस्थितिको आँकलनमा झुक्न जान्दैनन् । न त समयसँग सम्झौता गर्छन् । व्यवहारमा लचकता छैन । हर कुरामा आफ्नै जिद्दी छ । हर कुरामा आफ्नै ढिपी छ । परिणामतः सबैबाट लखेटिइरहेछन् । अनि पल पलमा सधै सधै सधै उही एउटै उपाधि पाइरहेछन्: तँ अब बुढो भइस् ।"
यो कुराचाँहि अल्लि ठिक गरिनछस् हेर् ज्वानाए । मैले त यो उमेरतक कहिल्यै कसैसँग ढिपी गरिनँ हेर् । दिएको कलो खाएँ । फालेको थाङ्नामा सुतेँ । तैपनि मलाई छिःछिः दुरदुर गर्छन् । तैँले भनेजस्तै जिद्दी गर्ने भए झन् कस्तो गर्दा हुन् मलाई ? हे दैवौ मेरो लागि काल पनि कता गयो होला ! कालले बिर्सँदा कम सास्ती भएको छ मलाई ? पत्र लेख्नुको सट्टा तँ आफै आएको भए छाती चिरेर देखाउने थिएँ । यो दर्द हेरिदिने कोही पनि छैनन् । क्यारूँ त पण्डित क्यारूँ !
"बुढ्यौली व्यक्तिगत विषय होइन साझा हो । व्यक्तिगत मुद्दा होइन सामूहिक हो । थिचोमिचोले समाज अघि बढ्दैन । हेपाइ र पेलाइले भ्रातृत्व मौलाउँदैन, एकता फस्टाउँदैन ! थिचोमिचोले न समाज अघि बढ्छ, न राष्ट्र । न नागरिकको विकास हुन्छ, न भूगोलको । एकता सबैका लागि आवश्यक छ । समृद्धि सबैका लागि अपरिहार्य छ । अनि आपसी सम्मान र भाइचारा सबैको रहर छ । यहाँ हात्तीको जत्ति महत्त्व छ, भुसुनाको पनि त्यत्तिकै छ । हावाको जत्ति महत्त्व छ, पानीको पनि त्यत्तिकै छ । यस संसारमा महत्त्वहीन र अनावश्यक वस्तु सायद कुनै छैन । कतिपय कुरा उपयोगका दृष्टिले व्यवस्थापनका दृष्टिले ओझेलमा होलान् । तिनलाई प्रकाशमा ल्याउनुपर्छ, निर्धक्कसँग पस्किनुपर्छ । आइपरेका व्यवधान सल्टाउनुपर्छ ! तब न समृद्धिको बाटो खुल्छ, शान्तिको सुमार्ग अगाडिन्छ ।
यसका लागि अरूहरूको जत्ति भूमिका छ, त्यत्तिकै भूमिका बुढाहरूको पनि छ ! तैपनि बुढाहरूलाई हेपेर, एउटै स्वरमा, एउटै लयमा, बिनातुक मान्छेहरू भनिरहेछन्, समाज भनिरहेछ, राष्ट्र कराइरहेछ: तँ अब बुढो भइस् !"
पत्र खुप्पै नाम्रो प लेखेको रहिछस् । गज्जपै लेखिछस् गाँठे । त्यत्तिकै कहाँ पण्डित कहलिन्थिस् त ! अरू पण्डितजस्तै तँ खालि पिण्डकै पिछुवा होलास् भन्ने मेरो सोच गलत रहेछ । तँ पितृको श्राद्धमा चढाइने पिण्ड होइनरहिछस्, पण्डित । तँ त मान्छेहरूको मांसपिण्ड पो रहिछस् । तँ त आकाशीय ग्रहहरूको विशाल पिण्ड पो रहिछस् । तँलाई बुढा मान्छेहरूको कथाव्यथा जम्मै थाहा रहेछ । त्यसैले तँ मेरोलागि पुजनीय मात्र होइनस्, आइन्दा सोधपुछ गर्न सकिने पुछनीय पनि बनेको छस् । तँलाई साधुवाद् छ । पत्र पठाएर मलाई सम्झिएकोमा धेरै धेरै धन्यवाद छ मेरो पिण्डालु पण्डितलाई ।
तँलाई दशैऔँला जोड्न पनि सकिनँ हेर् । एउटा पत्र पढ्दा एउटा औँलाले मात्र प्रणाम गरूँला । अर्को पढ्दा अर्कोले । चोरऔँलाले मात्र प्रणाम गर्यो भनेर पिरबादा नमानेस् । मेरा चेत् छैनन् हेर् । कुन पत्र पढिसकेँ भनेर मलाई अख्यान हुन्छ नि यसो गर्दा । क्यारूँ त, बुढेस् कालको ज्ञान तैँलाई बढी रहेछ ।
रातभर दिनभर पनि पढिरहूँ जस्तो पो लाग्यो तेरा पत्र । के लेखेको रहिछस् अर्को पत्र पनि खोलूँ है त ?
ऽऽऽऽऽ ऽऽऽऽऽऽ ऽऽऽऽऽऽ ऽऽऽऽऽऽ ऽऽऽऽऽऽ
स्वाँस्वाँऽऽऽ बेसरी बढेर पो आयोऽऽ हेर् तऽऽऽ सकिनँऽऽऽऽ सकिनँऽऽऽ पढ्न त तेरा पत्र सप्पै पत्र पढी भ्याउने मन थियोऽऽऽ तर एउटाभन्दा बढी मरिगए पढ्न सकिनँऽऽऽ आँखामा आँशु त्यत्तिकै भरिइरहन्छन् र एकैछिनमा बादल लागेको जस्तो भएर सम्पूर्ण मान्नमी ढाकिहाल्छऽऽऽऽ अनि रात हो कि दिन केही पनि छुट्याउन सक्दिनँऽऽऽऽ गलामा के के हो के के अड्किरहन्छ, ओकल्न सक्दिनँऽऽऽ जिउ लुगलुगाइरहन्छ, जिउ थाम्न सक्दिनँऽऽऽ आँत सुक्छ, पानी सारेर पनि खान सक्दिनँऽऽऽ जाडो लागेझैँ हुन्छ, सिरक तानेर ओढ्नै सक्दिनँऽऽऽ क्यारुँ त पण्डित ! तँलाई पनि मेरो जस्तै हुन्छ त ?ऽऽऽऽऽऽ खोई ?ऽऽऽऽऽ कहिलेसम्म सहनुपर्ने हो यो अवस्था ?ऽऽऽऽ तँलाई केही मालुम छ कि पण्डित ?ऽऽऽऽऽ ऽऽऽऽऽ ऽऽऽऽऽऽ ऽऽऽऽऽ
सकेँ भने अब तेरो अर्को पत्र भोलि पढ्नेछुऽऽऽ हुन त त्यो भोलि आज बनेर आउँछ कि आउँदैन खोई ?ऽऽऽऽ ल बिऽऽऽ दाऽऽऽ ऽऽऽऽऽऽऽऽऽऽऽ
उऽऽऽ हीऽऽऽ ते ऽऽ रो ऽऽ ज ऽऽ ज ऽऽ मा ऽऽ न ऽऽ ऽऽ ऽऽ ऽऽ ऽऽ ऽऽ ऽऽ !!!
(यस चिठ्ठीमा माथि उल्लेख गरिएका उद्धरण चिन्ह (" ") भित्रका वाक्यांशहरू सुप्रसिद्ध हास्यव्यङ्ग्यकार वासुदेव गुरागाईँ (पिँडालु पण्डित) द्वारा रचित 'तँ अब बुढो भइस् !' शीर्षकको खण्डकाव्यबाट साभार गरिएका हुन् । उनका कवितात्मक लहरहरूलाई कतै जस्ताको तस्तै त कतै सम्पादन गरेर अविधात्मक शैलीमा राखिएको छ । उनको यो खण्डकाव्य प्राप्त गरेर पढ्न नपाएका दुरदराजका पाठकहरूले पनि पढेर लाभान्वित होऊन् भन्ने उद्देश्यले लेखकबाट अनुमति नै नलिई चिठ्ठीको ढाँचामा ढालेर आफ्नै फेसबुक भित्तोमा प्रकाशित गर्ने जमर्को गरेको हुँ । लेखकले यो कुरा पत्तो पाएर आपत्ति नजनाएसम्म उक्त खण्डकाव्यका थप सामग्रीहरू चिठ्ठीको शैलीमा यही भित्तोमा निरन्तर रूपमा पस्किरहनेछु ।