रुकुम पश्चिममा मह बिक्रिबाट यस वर्ष किसानले ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । गत साउन १ गतेदेखि पुसमसान्त सम्म किसानले मह बिक्रिबाट ४० लाख रुपैयाँ आम्दानी गरेका हुन् । पाँच महिनाको अवधिमा ४ मेट्रिक टन मह उत्पादन हुदाँ उक्त मह बिक्रीबाट किसानले ४० लाख रुपैयाँ आम्दानी गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मह जिल्लामा प्रतिकिलो १ हजारदेखि १२ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । जिल्लामा सवैभन्दा बढी मह बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा उत्पादन हुने गरेकामा सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसिकोट र चौरजहारी नगरपालिकामा कम मह उत्पादन हुने गरेको उहाँको भनाई छ ।
जिल्लाभर १ सय ५० देखि २ सय जना किसानले मौरी पालन गर्दै आएका छन् । केही किसानले घरको लागि मात्र प्रयोग हुने मह उत्पाादन गरेपनि १ सय ५० भन्दा बढी किसानले व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको मह स्थानीय बजार खलंगा, सोलावाङ, चौरजहारी तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगञ्ज काठमाडौँसम्म मह बिक्री हुने गरेको छ ।
सिजनमा मह बिक्रिबाट प्रत्येक किसानले ५ हजारदेखि ३ लाखसम्म रुपैयाँसम्म आम्दानी गर्ने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । मौरीले मह लगाउने सिजनमा वर्षा हुँदा फुलमा भएको रस झरेका कारण किसानले यो सिजनमा सोचेजस्तो मह उत्पादन गर्न नसकेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।