प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाँउमा छैटौँ जिल्ला अधिवेशन पछिको पहिलो बैठक सम्पन्न भएको हो । बैठकले प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गर्ने निर्णय गर्नुका साथै दुई जनालाई जिल्ला समन्वय समिति सदस्यमा मनोनीत गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्लामा दीप प्रज्वलन गर्ने, प्रभात फेरी कार्यक्रम गर्ने र रक्तदान गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले जिल्ला सदस्यमा गोपाल ओली र नन्दराम ओलीलाई मनोनीत गरेको अध्यक्ष अध्यक्ष खड्काले जानकारी दिनुभयो । बैठकमा पालिकामा सङ्गठनको अवस्था, सङ्गठनले पालिकामा गर्ने गतिविधि लगायतको विषयमा छलफल भएको थियो ।
जिल्ला अध्यक्ष खड्काको अध्यक्षतामा भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका, पार्टी प्रचार विभाग प्रमुख तथा सङ्गठनका जिल्ला इन्चार्ज मेगराज खड्का, कर्णाली प्रदेश कोषाध्यक्ष तथा पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मी, सङ्गठनका पूर्व जिल्ला अध्यक्ष देवकुमार ओली लगायत सङ्गठनका जिल्ला पदाधिकारी तथा सदस्यहरूकाे उपस्थित रहेको थियो ।