Kakhara सबैको खबर सम्पूर्ण खबर
नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्रीको पहिलो हस्ताक्षर दुर्गमको विकासका लागि
कार्यारम्भ गर्नुहुँदै कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री शर्मा ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णालीको दुर्गम जिल्लाको विकासका लागि फाइल सदर गर्नुभएको छ । सपथ ग्रहण लगत्तै पदवहालीका क्रममा मन्त्री शर्माले दुर्गमका २ मोटरेबल पुल र  १ सडक निर्माणको लागि फाइल सदर गर्दै कार्यारम्भ गर्नुभयो ।

उहाँले मुगु जिल्लाको दोमुख माटरेबल पुल निर्माणका लागि १ करोड २७ लाख, झुक्ला मोटरेबल पुलका लागि ५ करोड ११ लाख र क्याटु–साल्दाङ–धो सडकका लागि १० करोड ५५ लाख बजेट सुनिश्चितताको फाइल सदर गर्नुभएको छ । दुर्गमको विकासका लागि सडक महत्वपूर्ण भएकाले त्यसलाई प्राथमिकता दिँदै मन्त्री शर्माले यी आयोजनाको फाइल सदर गर्नुभएको हो । 

पदवहाली गर्दै मन्त्री शर्माले  कर्णाली प्रदेश सरकारको कामकारवाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिइने बताउनुभयो । कर्णालीको विकासका लागि उपलव्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढंगबाट बजेट बाँडफाट गर्ने र तत्काल जनताको जिउ जोगाउने कार्य पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । 

कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण र त्यसका लागि आवश्यक सामग्री जुटाउन र जनशक्ति व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता पनि पदवहालीका क्रममा उहाँले गर्नुभएको छ । कर्णालीको आवश्यक्ता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण र कार्यान्वयन गर्ने, भौतिक पूर्वाधार निर्माण र मानवीय विकास विकासलाई सँगसँगै लैजाने उहाँको योजना छ ।

आगामी वर्षको बजेट कार्यान्वयन हुने गरी विनियोजन हुने र कार्यान्वयनलाई पहिलो प्राथमिकता दिइनेमा उहाँले जोड दिनुभयो । कर्णालीको सबै क्षेत्र, समुदाय र भूगोल समेटेर बजेट आउने तथा कार्यान्वयनमा पनि त्यसरी नै तदारुक्ता दिइने नवनियुक्त मन्त्री शर्माले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update