रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा परम्परागत पापिनी मेला सुरु भएको छ । मुख्य मेला माघ १६ गते लाग्ने छ । तर मेलाको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरू आजबाट सुरु भएका छन् । यो सँगै मेला पनि आजबाट सुरु भएको हो ।
मेलाको बिहीबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको हो । मेलाका अवसरमा स्थानीय हाम्रो सरोकारले पिपिएम कप महिला पुरुष भलिबल, खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
वडाध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख र नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिकाका अध्यक्ष दलबहादुर खड्काको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगर प्रमुख केसीले साँखको पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न काम गरिरहेको बताउनुभयो । साँखका विभिन्न पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाका बजेट विनियोजनमा ध्यान दिएको बताउनुभयो ।
विशेष अतिथि खड्काले स्थानीय सरकार सहित सरोकारवाला सबै पर्यटन प्रवर्द्धनका जुट्नुपर्ने बताउनुभयो । मुसिकोटको भित्र रहेका साँख जस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास भएमा समग्र नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँदै उहाँले पार्टीको तर्फबाट साँख गाउँको विकास र समग्र पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको जानकारी गराउनुभयो ।
हाम्रो सरोकारका परिकल्पनाकार मनोज विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश विकले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय झाँक्री नाच, मयुर नाच, पञ्चेबाजा नाच, पापिनी नाच देखाइएको थियो भने झाँकी सहित साँख दह परिक्रमा गरिएको थियो ।
के के कार्यक्रम हुँदै छन् ?
यो वर्ष मेलाको अवसरमा पहिलो पिपिएम कप महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला, रुकुम पूर्व र रोल्पाका टिम सहभागी हुन पाउने गरी शुद्ध वडा स्तरीय पिपिएम कप महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हाम्रो सरोकारका अध्यक्ष रिजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको अवसरमा भलिबल सहित पुरुष डबल ब्याडमिन्टन, महिला पुरुष रसाकसी प्रतियोगिता आयोजना गरिएको छ ।
त्यस्तै सांस्कृतिक कार्यक्रम तर्फ लोक दोहरी, मयुर नाच, पैसेरु नाच, सिँगारु नाच लगायत लोपोन्मुख स्थानीय संस्कृति तथा कलालाई प्रतिस्पर्धा गराइने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । पुरुष भलिबल तर्फ विजेता टिमले १ लाख १ हजार नगद, कप, मेडल र प्रमाण पत्र पाउँदा उपविजेता हुने टिमले ७१ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उहाँको भनाई छ । तृतीय हुने टिमले भने नगद ४१ हजार, मेडल र प्रमाण पत्र पाउने बताइएको छ । टिम दर्ता शुल्क ९ हजार तोकिएको छ ।
महिला तर्फको विजेताले १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १० हजार तथा तृतीय हुने टिमले ५ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । महिला तर्फको दर्ता शुल्क १५ सय कायम गरिएको छ । पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले २० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता जोडीले १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक हाम्रो सरोकारका महासचिव प्रकाश विकले जानकारी गराउनुभयो । दर्ता शुल्क २ हजार तोकिएको छ ।
महिला पुरुष रसाकसी तर्फको प्रथम पुरस्कार २ हजार र द्धितिय पुरस्कार १५ सय तथा लोक दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार ३ हजार र तृतीय पुरस्कार २ हजार राखिएको छ । त्यस्तै अन्य सांस्कृतिक कार्यक्रम तर्फ उत्कृष्ट हुने समूहहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको महासचिव विकले बताउनुभयो । मेलालाई भव्य बनाउने र पर्यटन प्रवर्द्घनमा टेवा पुर्याउने लक्षका साथ तयारी भइरहेको उहाँको भनाई छ ।
पापिनी मेला परापूर्व काल देखि नै लाग्दै आएको स्थानीय अगुवाहरूको भनाई छ । मेलाको मुख्य आकर्षण केटी केटीकै बिचमा हुने नाटकीय विवाह हो । १४ गते साँझ बेहुली माग्न जाने, १५ गते साँझ बेहुलीलाई धूमधाम अन्माएर पठाउने र १६ गते मेला लागेर सकिने गर्दछ । तर मेलाका अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम भने केही अघि बाटै सुरु हुन्छन् । साँख दह तलिगाउँ र माथिगाउँका केटी केटीका बिचमा बर्सेनि पालो पालो विवाह गराइदिने प्रचलन छ ।
केटीलाई नै बेहुली र बेहुला बनाएर एक वर्ष तलिगाउँको बेहुला र माथि गाउँकी बेहुली तथा अर्को वर्ष तलिगाउँकी बेहुली र माथि गाउँको बेहुला बनाएर विवाह गराइदिने प्रचलन परापूर्व काल देखि छ । साँखमा मानव बस्ती सुरु भए देखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरूको भनाई छ ।
थप फाेटाे हेर्नुहाेस