संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रुकुम पश्चिमले स्थापना दिवसको अवसरमा रक्तदान र बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सातौँ वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा संघले शुक्रवार रक्तदान तथा जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो । जिल्ला अस्पताल सल्लेमा उपचाररत ८० जना भन्दा बढी बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको संयुक्त एम्बुलेन्स चालक संघका जिल्ला अध्यक्ष कृष्णकुमार ददेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामीलाई स्याउ, केरा वितरण गरिएको हो । अस्पतालमा उपचाररत सुत्केरी, गर्भवती, दीर्घ रोगी लगायत अन्य बिरामीलाई फलफूल वितरण गरिएको हो । बिरामीलाई १८ किलो स्याउ, १५ दर्जन केरा वितरण गरिएको अध्यक्ष ददेलले जानकारी दिनुभयो । स्थापना दिवसकै अवसरमा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष ददेलले रक्तदान समेत गर्नुभएको छ ।
बिरामीलाई फ्रेस(ताजा) रगत आवश्यक पर्ने भएकाले तत्काल ब्लड बैकमा ब्लड मौज्दात रहेकाले एक जनाको मात्र ब्लड लिइएको जिल्ला अस्पताल सल्ले ब्लड बैंकका ल्याब प्राविधिक पुष्कर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तीन जनाको भने सबै वितरण टिपोट गरेर राखिएको र आवश्यक पर्ने समयमा ब्लड निकालिने छ ।
रक्त समूह ए नेगेटिभ, ओ नेगेटिभ, र एबी पोजेटिभ प्रतीक्षाको लिस्टमा राखिएको ल्याब प्राविधिक केसीले जानकारी दिनुभयो । स्थापना दिवसकै अवसरमा साँझ जिल्ला अस्पताल सल्लेमा दीप प्रज्वलन कार्यक्रम राखिएको संघका अध्यक्ष ददेलले जानकारी दिनुभयो ।
संयुक्त एम्बुलेन्स चालक संघले जिल्लामा आपत् विपत्मा परेका बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, आर्थिक सहयोग लगायतका काम गर्दै आएको छ । बिहीबार मात्र संयुक्त एम्बुलेन्स चालक संघले लडेर घाइते हुनुभएकी मुसिकोट नगरपालिका १० चुनकी ५५ बर्सिया मोतीकला खड्कालाई रुकुमबाट नेपालगन्जसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको थियो । संघ मार्फत जिल्लाका छ वटै पालिकामा गरी २२ वटा एम्बुलेन्स १ एक वटा शव वाहन सेवा सञ्चालनमा छन् ।
संघले एम्बुलेन्स चालकले भोग्नुपरेका समस्या, सम्बन्धित निकायले गर्नुपर्ने सहयोग तथा चालकहरूको हकहितका विषयमा काम गर्दै आएको अध्यक्ष ददेलले जानकारी दिनुभयो । फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल सल्लेका प्रमुख डाक्टर महेश चौलागाई, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी, माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, एम्बुलेन्स चालक लगायत पत्रकारको उपस्थित रहेको थियो ।
विभिन्न समस्या भोग्नु परेको गुनासो
संयुक्त एम्बुलेन्स चालक संघले एम्बुलेन्स चालकलाई विभिन्न समस्या हुने गरेको गुनासो गरेका छन् । जिल्लामा शव वाहन नहुँदा एम्बुलेन्समै शव बोक्नु पर्ने, रातीको समयमा ८ बजेपछि एम्बुलेन्स चलाउँदा नाइट भत्ता पाउन नसकेको लगायतका गुनासो गरेका छन् ।
त्यस्तै बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा रहेका १/१ वटा एम्बुलेन्स प्रयोग विहीन भएकाले तत्काल प्रयोगमा ल्याउनु पर्ने, टोल फ्री नम्बर १०२ कर्णाली प्रदेशको सुर्खेतमा मात्र लागु भएकाले जिल्लावासीको सहजताका लागि जिल्लामा टोल फ्री नम्बर सञ्चालनमा आउनुपर्ने लगायतका विषय एम्बुलेन्स चालक संघका साझा समस्या रहेको एम्बुलेन्स चालक संघ रुकुम पश्चिमले जनाएको छ ।