नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले पत्रकारिताका नाममा गलत गर्नेहरूलाई कारबाहीको माग गरेको छ । केही व्यक्तिहरूले आफूहरू टेलिभिजनको पत्रकार भन्दै रुकुम पश्चिमका विभिन्न सरकारी कार्यालयमा पुगी क्यामेरा तेर्साएर तेल माग्ने तथा हजारौँको बिल पेस गरेको घटना सार्वजनिक भएको प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै रुकुम पश्चिम जिल्लामा केही व्यक्तिहरूले आफूलाई टेलिभिजन पत्रकार बताई, क्यामेरा तेर्स्याएर विभिन्न सरकारी कार्यालय तथा विभिन्न संघ–संस्थाहरूमा पुगेर तेलको स्लिप लिएको र हजारौँ रुपैयाँको विज्ञापन बिल पेस गरेको घटना सार्वजनिक भएकोप्रति नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको गम्भीर ध्यानाकर्षण भएको छ, महासंघले भनेको छ ।
यस प्रकारको हर्कतले पत्रकारिता पेसाको मर्यादा र सच्चा श्रमजीवी पत्रकारहरूको प्रतिष्ठामा गम्भीर आँच पुर्याएको महासंघले जनाएको छ । ‘यस्ता गैर–जिम्मेवार र अनैतिक कार्यहरूले पत्रकारिता पेसाको मर्यादा र सच्चा श्रमजीवी पत्रकारहरूको प्रतिष्ठामा गम्भीर आँच पुर्याएको छ । नेपाल पत्रकार महासंघ यस्ता गतिविधिहरूको कडा शब्दमा निन्दा गर्दछ,’ महासंघका सचिव दीपेन्द्र महताराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै महासंघले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै महासंघले जिल्लास्थित सबै सरकारी कार्यालय प्रमुख, संघ–संस्था तथा सरोकारवालाहरूलाई यस्ता फटाहा गतिविधिहरूप्रति सचेत रहन र कुनै पनि सेवा, सहुलियत वा सहकार्य प्रदान गर्नु अघि पत्रकार परिचयपत्रको यथोचित सत्यापन गर्न विशेष ध्यान दिन अपिल समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमले पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालना गरी पेसाको गरिमा बढाउन आग्रह गर्दै यसमा महासंघ प्रतिबद्ध रहेको जनाएको छ । ‘महासंघ सबै श्रमजीवी पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै पेसाको गरिमा उच्च राख्न अनुरोध गर्दछ । यस्ता अनैतिक कार्यले पत्रकारिताको विश्वासलाई धमिल्याउन नपाओस् भन्नेमा महासंघ प्रतिबद्ध छ । सत्य र तथ्यमा आधारित पत्रकारिताको रक्षा गर्न सबै पक्षको सहयोग आवश्यक छ, विज्ञप्तिमा भनिएको छ ।