-1737778573.png)
म सम्झिन्छु मेरा बुबा अनि हामी प्रतिको त्यो बर्षौँ देखिको त्यागलाई, बुबा एउटा यस्तो शब्द हो जसले हाम्रो जीवनमा सुरक्षा, माया, प्रेरणा, र बलिदानको गहिरो अर्थ बोकेको हुन्छ। बुबा त्यो व्यक्तित्व हुन् जसले हामीलाई हरेक कठिनाइको सामना गर्न सधैँ तयार पार्नुहुन्छ । उहाँले आफ्नो सपना, इच्छा र चाहनाहरूलाई किनारा लगाएर सन्तानको भविष्यका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुहुन्छ ।
बुबा हाम्रो पहिलो शिक्षक हुनुहुन्छ। जीवनका हरेक मूल्यवान् पाठहरू उहाँबाट सिकिन्छन्। म कति पटक उहाँको अनुहारमा थकान देख्थेँ, तर कहिल्यै उहाँको आवाजमा गुनासो सुन्न पाएको छैन। दिनभरको कठोर परिश्रमपछि पनि उहाँको मुस्कानले सधैँ हामीलाई नयाँ ऊर्जा र हौसला दिन्थ्यो।
मलाई याद छ, म सानो छँदा, गल्ती गर्दा बुबाले कहिल्यै गाली गर्नु भएन। बरु, उहाँले मलाई गल्ती सुधार्ने मौका दिनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो, "गल्ती सिक्ने प्रक्रिया हो, त्यसलाई डरको रूपमा नहेर्नू।" उहाँका यी शब्दहरूले मलाई साहसी र आत्मनिर्भर बनायो ।
बुबाले कहिल्यै हामीलाई आफ्नो माया खुलेर देखाउनु भएन, तर उहाँको प्रत्येक कामले हामीप्रतिको उहाँको अथाह प्रेमको गहिराई देखिन्थ्यो। बिहानदेखि बेलुकासम्म काममा खटिनु, नयाँ कपडा नकिनी पुराना नै लगाउन चाहनु, हामीलाई राम्रो शिक्षा दिन हर सम्भव प्रयास गर्नु—यी सबै उहाँका प्रेमका रूपहरू थिए ।
जब म जीवनमा ठुला निर्णयहरू लिने स्थिति आइपुग्छु, बुबाका सल्लाह र शिक्षा नै मेरो पथप्रदर्शक हुन्छन्। उहाँले सधैँ भन्नुहुन्थ्यो, "जुनसुकै स्थिति आए पनि इमानदारी कहिल्यै नछोड। सफलताभन्दा पनि सम्मान ठुलो हो।" यो वाक्य मेरो जीवनको आधारभूत सिद्धान्त बनेको छ ।
जीवनमा कुनै उपलब्धि हासिल गर्दा पहिलो खुसी बुबाको आँखामा देख्न पाउँदा, मलाई लाग्छ, मैले जीवनको सबैभन्दा ठुलो उपहार उहाँलाई दिएको छु। उहाँको खुसी नै मेरो प्रेरणाको स्रोत हो ।
हामी प्रायः आमाको माया खुलेर व्यक्त गर्छौँ, तर बुबाको माया प्रायः ओझेलमा पर्छ। उहाँको बलिदान र संघर्षलाई हामी धेरै पटक सामान्य रूपमा लिन्छौँ। तर साँचो भन्नुपर्दा, बुबा हाम्रो जीवनको असली नायक हुनुहुन्छ ।
बुबाको जीवन हामीलाई यो सिकाउँछ कि संघर्ष बिना सफलता सम्भव छैन। उहाँका हरेक पाइला, हरेक शब्द र हरेक कर्ममा हामीलाई एक महान् शिक्षा लुकेको हुन्छ। उहाँप्रति म सधैँ आभारी छु ।
बुबा केवल एउटा व्यक्ति मात्र होइन, उहाँ मेरो जीवनको एउटा अध्याय, मेरो आत्मविश्वास, र मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँप्रति मेरो स्नेह र सम्मान शब्दमा मात्र सीमित हुन सक्दैन। बुबाको अस्तित्वबिना मेरो जीवन अधुरो छ, उहाँको आशीर्वादबिना मेरो यात्रा अपूर्ण छ।
बुबा,
यो घर खाली-खाली जस्तो लाग्छ,
तपाईँको हाँसो र पैतालाको आवाज बिना ।
तपाईँको सम्झना
यो मुटुको कुनामा चसक्क घोचेर जान्छ ।
जहाँ तपाईँ हुनुहुन्थ्यो,
त्यहाँ अब केवल मौनता छ ।
तपाईँ धन कमाउन परदेश गयो,
तर यहाँ हामीलाई माया र न्यानो चाहिएको छ ।
तपाईँले भन्नुहुन्थ्यो,
“म तिमीहरूको भविष्यको लागि जाँदै छु ।”
तर भविष्य कस्तो भयो ?
यो वर्तमानमा तपाईँको अभावले
मेरो हृदयले खुसी महसुस गर्न सकेको छैन।
सपना त तपाईँले धेरै देख्नुभयो,
तर ती सपनाहरूको भार
तपाईँको अभावमा बोकिनु
कति गाह्रो छ, बुबा।
तपाईँ जानुभएको दिन,
तपाईँले आफ्नो बोरामा सपना राखेर लग्नुभयो।
तर हामीले के पायौँ ?
तपाईँको याद,
तपाईँको खाली खाट,
र तपाईँको अभावमा
दुखी बनेका हाम्रा हरेक बिहान।
बुबा,
मलाई थाहा छ,
त्यहाँ तपाईँले बिहानदेखि बेलुकासम्म
मिहिनेत गर्दै हुनुहुन्छ ।
तपाईँको हातको चिसो चउर,
तपाईँको आँखाको थकित दृष्टि,
र तपाईँको चुपचाप संघर्ष
मैले टाढैबाट पनि देख्न सक्छु ।
तर, बुबा,
त्यो धनले हामीलाई कति दिन सन्तुष्टि दिन्छ ?
हामीलाई त तपाईँको साथ चाहिएको छ।
हामीले खाना खाँदा
तपाईँको प्लेट खाली रहन्छ ।
खेल्दा तपाईँको हुटिङ
कानमा सुनिँदैन ।
आमाको आँखा,
तपाईँको प्रतीक्षामा टोलाउँछ,
र मेरो मन,
तपाईँको छाया खोज्छ ।
तपाईँले नबुझेको कुरा के छ भने,
तपाईँको अनुपस्थितिले हामीलाई
धनको खालि महलमा बन्दी बनाएको छ ।
तपाईँ फर्केर आउनुहुन्छ
यो घरमा नयाँ सपनासहित,
तर त्यो दिनसम्म,
हामीले तपाईँको अभावलाई अँगाल्न सिक्नु छ।
बुबा,
तपाईँ हामीसँगै हुँदा
सबै कुरा सहज लाग्थ्यो ।
तपाईँको हरेक शब्द
हाम्रो साहस थियो ।
तपाईँको हरेक उपदेश
हाम्रो पथप्रदर्शक थियो ।
तर अब,
हामी केवल तपाईँको सम्झनाको सहारामा बाँचिरहेका छौँ।
म कहिलेकाहीँ सोच्छु,
तपाईँ कहाँ होलान् ?
त्यहाँको आकाश कस्तो छ ?
त्यहाँको हावा कस्तो छ ?
के तपाईँले पनि
हाम्रो सम्झनाले मन भारी बनाउनुहुन्छ ?
बुबा,
यो जीवन धनले मात्र सम्पन्न हुँदैन।
हामीलाई तपाईँको हाँसो,
तपाईँको अँगालो,
तपाईँको माया चाहिएको छ।
धन त सधैँ आउँछ र जान्छ,
तर तपाईँको अभावमा
हाम्रो यो जीवन अधुरो लाग्छ।
त्यसैले, बुबा,
जहाँ भए पनि,
हाम्रो माया र आशीर्वाद तपाईँसँगै छ ।
तर,
हामीलाई तपाईँको मायाले भरिएको
त्यो पुरानै दिन चाहिएको छ ।
तपाईँको साथ बिना,
यो घर कहिल्यै घर जस्तो लाग्दैन ।
आफ्ना सन्तानप्रति बाको कहालीलाग्दो त्याग र परिश्रम
जीवनका हरेक मोडमा बाको भूमिका अमूल्य छ। हाम्रो समाजमा बा भन्ने व्यक्तिलाई परिवारको मेरुदण्ड मानिन्छ। हरेक सन्तानको सपना पूरा गर्न बाले गरेको त्याग र परिश्रमको मूल्य कहिल्यै तोल्न सकिँदैन। आज हामी बाको त्यो कहालीलाग्दो संघर्ष र अद्वितीय प्रेमको चर्चा गर्नेछौँ।
बाल्यकालको सुरक्षादेखि शिक्षाको सुनिश्चितता
बाको जीवन सन्तानकै लागि समर्पित हुन्छ। बाल्यकालमा हामीलाई स्वस्थ, सुरक्षित, र खुसी राख्न उहाँले थुप्रै कठोर परिश्रम गर्नुपर्छ। सानो हुँदा हाम्रो राम्रो लालन पालनका लागि बा बिहान सबेरै उठेर खेतबारी जानुहुन्थ्यो, कामको थकानलाई पनि नजरअन्दाज गर्नुहुन्थ्यो। कहिलेकाहीँ आर्थिक अभावले गर्दा उहाँलाई आफ्ना सपना छोड्नुपरेको हुन सक्छ, तर सन्तानका सपनामा कहिल्यै सम्झौता गर्न सक्नुहुन्न ।
सन्तानलाई राम्रो शिक्षा दिने बा आमाको मुख्य सपना हुन्छ। शिक्षा नै जीवनको उज्यालो बाटो हो भन्ने कुरा बाले राम्ररी बुझ्नुभएको हुन्छ। खेतमा काम गरेर, पसिना बगाएर, कहिलेकाहीँ ऋण उठाएर भए पनि सन्तानलाई विद्यालय पठाउने उहाँको निष्ठा साँच्चै प्रेरणादायी छ।
अभावलाई सहेर परिवारको भविष्य निर्माण
सन्तानका लागि बाले गरेका त्यागहरू केवल आर्थिक सीमामा सीमित हुँदैनन्। उहाँले आफ्नो व्यक्तिगत जीवनका थुप्रै चाहना र आवश्यकता त्याग्नुहुन्छ। नयाँ कपडा लगाउन नपाए पनि, मिठो खान पाउने अवसर नआए पनि सन्तानको चाहना पूरा गर्न उहाँले कहिल्यै पछि हट्नुहुन्न। जाडोको कठ्याङ्ग्रिने रातमा आफू चिसोमा बसेर सन्तानलाई न्यानो कम्बल ओढाउने उहाँको त्यो ममता अमूल्य छ।परिश्रमको प्रेरणादायी कथा जीवनमा कुनै पनि काम सानो हुँदैन। यो कुरा बाले आफ्नो परिश्रमबाट देखाउनुभएको हुन्छ। बिहानदेखि साँझसम्म उहाँले थकाइलाई बिर्सेर काम गर्नुहुन्छ। पेट्रोल पम्पमा काम गर्ने, निर्माण स्थलमा इँटा बोक्ने, बसको सहचालक हुनेजस्ता कामहरू उहाँले गर्नुभएको हुन सक्छ। उहाँको अनुहारको पसिनाले सन्तानको भविष्यको जग हाल्न सहयोग पुर्याउँछ।सन्तानको सफलता बाको सबैभन्दा ठुलो खुसी बा को जीवनको सबैभन्दा ठुलो उपलब्धि भनेकै आफ्ना सन्तानको सफलता हो। जब सन्तानले पढाइमा राम्रो गर्छन्, जीवनमा अगाडि बढ्छन्, बाको मिहिनेत सार्थक हुन्छ। उहाँले सन्तानलाई आफूभन्दा ठुलो मान्छे बनाउने सपना देख्नुहुन्छ। जब सन्तानले उहाँलाई गर्व गर्न सक्ने अवस्थामा पुर्याउँछन्, त्यो नै बाको लागि सम्पूर्ण संसार बराबर हुन्छ।
गहिरो प्रेमको अभिव्यक्ति:
सन्तानप्रतिको बाको प्रेम सधैँ मौन हुन्छ। उहाँले हरेक दुःख आफैँ सहनुहुन्छ, तर हामीलाई सधैँ मुस्कान दिनुहुन्छ। उहाँको माया सागरजस्तै अथाह र गहिरो हुन्छ। सन्तानका लागि उहाँले गरेको त्यागको कुनै लेखाजोखा हुँदैन, तर उहाँले दिएको प्रेरणा हरेक कदममा हामीलाई साथ दिन्छ।निष्कर्ष:आफ्ना सन्तानप्रति बाले गरेको त्याग र परिश्रमको कथा प्रत्येक व्यक्तिको जीवनमा अमिट छ। बाले दिनुभएको प्रेम, संघर्ष, र त्यागको महत्त्व बुझ्न हामीले कहिल्यै ढिला गर्नुहुँदैन। उहाँको मिहिनेत र सपना पूरा गर्ने जिम्मेवारी हाम्रो कर्तव्य हो। बाको त्याग र परिश्रमका अगाडि हाम्रो सबै धन्यवाद सधैँ अधुरो हुनेछ।
प्रशान्त डाँगी, धनगढी हाल काठमाडौं ।