एक रुपैयाँ होस चाहे हजार,थुक लगाइन्छ ।
रत्तीभर लाग्दैन यसको सार, थुक लगाइन्छ ।
मान्छेको मनभन्दा पैसा ठुलो कसरी हुनसक्छ?
जसलाई गन्ने बेलामा बारम्बार, थुक लगाइन्छ ।।
मनभित्र अहंकार पालेर, नमस्कार हुँदो रहेछ ।
जुम्ल्याहा बाहु गोजीमा हालेर, नमस्कार हुँदो रहेछ ।
अहिलेको युवा पुस्ताको संस्कार अचम्मैको लाग्यो,
जहाँ हातहरु नै नउचालेर, नमस्कार हुँदो रहेछ ।।
मैले नजरअन्दाज गरे कता-कता खत्रै रहेछ ।
ओहो! क्या ! हिम्मत, क्या ! वीरता खत्रै रहेछ ।
नबोलाउने मेरो घुर्की पनि चानचुने होइन,
झन् तिम्रो नबोलेरै बस्न सक्ने क्षमता खत्रै रहेछ ।
ओहो ! आतंककारी बन्ने ठाउँमा तर्क गरियो र !
मेरो आफ्नै खेदो खन्ने ठाउँमा तर्क गरियो र !
एक राजनीतिज्ञले कट्टा हान्दिन्छु भनेको छ,
फलानो सरकार जिन्दाबाद भन्ने ठाउँमा तर्क गरियो र !
हुनेवाला ससुरा बा बाट प्रश्न गजब-गजब सोधियो ।
सोधियो मलाइ पढाई, लेखाइ थर जति सब सोधियो ।
तर मेरो छोरीलाई कति प्रेम गर्छौ कहिल्यै सोधिएन,
बरु महिनामा कति कमाउँछौ भनेर तलब सोधियो ।।