रुकुम पश्चिम र जाजरकोट विचको मैत्रिपूर्ण टि–२० क्रिकेट श्रृङखलामा रुकुम पश्चिमले विजयी सुरुवात गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–१, नाखिरा खेलमैदानमा आज भएको पहिलो खेलमा जाजरकोट ‘बि’ टिमलाई २७ रनले हराउदै ३ वटा खेलको मैत्रिपूर्ण श्रृङखलामा रुकुम पश्चिम ‘बि’ टिमले विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको रुकुम पश्चिमले १४ ओभर ५ बलमा सबै १० विकेट गुमाउदै १ सय १० रन बनाएको थियो । रुकुम पश्चिमका लागि सुदीपराज गिरीले सर्वाधिक २० रन बनाए भने यदु शर्माले १७ रन, अनिश पराजुली र गणेश ददेलले समान १२ रन बनाए ।
जाजरकोटका लागि निवास हमालले ४ विकेट तथा मौसम बिक र विशाल शाहीले समान २/२ विकेट लिएका थिए । १ सय ११ रनको लक्ष सहित जवाफि व्याटिङमा उत्रिएको जाजरकोट १४ ओभर ४ बलमा ८३ रनमा अलआउट भयो । उसका लागि निर्देश बस्नेतले १५ रन तथा बसन्त भण्डारी र आदित्यविक्रम शाहले समान १०/१० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जाजरकोटलाई सस्तैमा समेटनका लागि रुकुम पश्चिमका दिपेन्द्र केसीले ३ विकेट, यदु शर्मा र सुदिप शर्माले २/२ विकेट र प्रकाश भण्डारीले १ विकेट लिए ।
जित संगै ३ वटा खेलको श्रृङखलामा रुकुम पश्चिम १/० ले अगाडि छ । यि दुई टिम विचको दोस्रो र तेस्रो खेल भोली हुने छ । श्रृङखलाको विजेताले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक थ्री स्टार युवा क्लव रुकुम पश्चिमले जनाएको छ । तिहारको अवसरमा खेल आयोजना गरिएको आयोजकले बताएको छ ।