Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ६ का ७० जना कृषकलाई अनुदानमा आलुको बिउ

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का कृषकलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । ७० प्रतिशत अनुदानमा वडाका ७० जना कृषकलाई आलुको बिउ वितरण गरिएको हो ।

वडा कार्यालयकाे ताजा तरकारी तथा आलु प्रबर्द्धन कार्यक्रम अन्तर्गतकाे ७० प्रतिशत अर्थात् ४ लाख ६३ हजार ७ सय ५० र कृषकको ३० प्रतिशत अर्थात् १ लाख ९८ हजार ७ सय ५० गरी कुल ६ लाख ६२ हजार ५ सय लगानीमा आलुको बिउ खरिद गरेर वितरण गरिएको वडा सदस्य अनिल बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ हजार २ सय ६८ किलो बिउ वितरण गरिएको हो । वडामा रहेका २ वटा समूहका ३१ जना र अन्य ३९ जना गरी ७० जना कृषकलाई बिउ वितरण गरिएको वडा सदस्य बुढाले बताउनुभयो ।

वडामा आलु उत्पादन बढाउने र कृषकको आयस्रोत बढाउने उद्देश्यले कृषकलाई आलुकाे बिउ वितरण गरिएको वडाध्यक्ष भानु मल्लले जानकारी गराउनुभयो । वडामा राम्रो आलु उत्पादन हुने भएकोले व्यावसायिकता बढाउने र आलु खेतीबाटै आर्थिक अवस्था सुधारका लागि वडाले यो कार्यक्रम बनाएको उहाँको भनाइ छ ।

साथै कृषकहरूलाई आलु खेती सम्बन्धी सिकाइएको थियो । मुसिकोट नगर कृषि शाखा प्रमुख यज्ञबहादुर खड्काले आलु खेती, यसका फाइदा, आलु खेती गर्ने तरिका, रोग किराको नियन्त्रण, बजारीकरण लगायका बारेमा सिकाउनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update