Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा माघ २२ गतेबाट एच.पी.भी खोप अभियान चल्ने, कसले पाउँछ खोप ? 

रुकुम पश्चिममा माघ २२ गतेबाट एच.पी.भी खोप अभियान चल्ने भएको छ । विद्यालय स्तरका किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोप अभियान सञ्चालन हुने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सेवा कार्यालयले यसबारेमा जानकारी गराएको हो । 

जिल्लाका तीन पालिका मुसिकोट र आठबिसकोट नगरपालिका तथा बाँफिकोट गाउँपालिकामा माघ २२ गतेबाट खोप अभियान सञ्चालन हुने छ भने चौरजहारी नगरपालिका तथा सानीभेरी र त्रिवेणी गाउँपालिकामा माघ २७ गतेबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । 

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाइने उहाँले बताउनुभयो । यो वर्ष पहिलो वर्ष भएकोले कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई खोप दिन लागिएको भए पनि अर्को वर्ष देखि भने नियमित रूपमा बर्सेनि कक्षा ६ का छात्राहरूलाई खोप दिइने खड्काले बताउनुभयो । 

जिल्लामा १० हजार १ सय ९३ जना स्कुले किशोरीहरूलाई खोप दिने लक्ष राखिएको छ । जसमा कक्षा ६ देखि १० सम्मका ९ हजार ९ सय ६० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीहरू रहेका छन् । खोप कार्यक्रमका लागि १ सय ३१ वटा विद्यालयमा २ सय ७ वटा खोप केन्द्र र ७५ वटा स्वास्थ्य संस्था तोकिएको छ । 

HPV-(2)-1737978888.jpeg
यो कार्यक्रमका लागि जिल्लाभरमा साढे ६ सय जनशक्ति परिचालन गरिने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जनशक्ति मध्ये २ सय १२ जना स्वास्थ्यकर्मी रहेका छन् भने ४ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन् । नेपालमा हालसम्म १३ प्रकारका नियमित खोप रहेकामा अब एच.पी.भी थपिएसँगै नियमित खोपको सङ्ख्या १४ पुगेको उहाँले बताउनुभयो ।

यो खोप सुरक्षित रहेकोले अनिवार्य रूपमा खोप लगाउन स्वास्थ्य सेवा प्रमुख डाक्टर महेश चौलागाइले आग्रह गर्नुभयो । परीक्षणका रूपमा खोप लगाउँदा कसैलाई पनि केही नभएकोले यो खोप सुरक्षित रहेको उहाँको भनाई छ । जिल्लाभरमा यो कार्यक्रमलाई पूर्ण रूपमा सफल पार्न सहयोगका लागि उहाँले सबैमा अपिल समेत गर्नुभयो । 

HPV-(1)-1737978887.jpeg
जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख देवबहादुर विक, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update