प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम गरिएको छ । प्रेस सेन्टर नेपालले जिल्ला अस्पताल सल्लेमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । जसमा १३ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि ३० जना इच्छुक रहेकामा आवश्यकता अनुसार १३ जनाको रगत निकालिएको र १७ जनालाई सम्पर्कमा राखिएको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ओ पोजेटिभ ४ पिन्ट, ए बि पोजेटिभ ४ पिन्ट, ए पोजेटिभ २ पिन्ट र बि पोजेटिभ १ पिन्ट रगत निकालिएको छ ।
जिल्लास्थित पत्रकार तथा अन्य व्यक्तिहरूले रक्तदान गरेको उहाँले बताउनुभयो । निकालिएको रगत मध्ये ८ पिन्ट चौरजहारी पठाइएको छ भने ५ पिन्ट जिल्ला अस्पतालमा राखिएको छ । अन्य इच्छुकहरूलाई सम्पर्कमा राखिएको र आवश्यकता परेमा बोलाइने जिल्ला अस्पतालको ब्लड बैङ्कका ल्याब टेक्निसियन पुस्कर केसीले जानकारी दिनुभयो । जिल्लामा रगतका अभाव नहोस र रगत अभावका कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
रक्तदान कार्यक्रमका लागि मानव विकास तथा सामुदायिक सेवा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, चौरजहारी उपशाखा र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रेस सेन्टर जिल्ला समन्वय समिति रुकुम पश्चिमले जनाएको छ ।
रक्तदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, सङ्गठनका संस्थापक तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, मानव विकास तथा सामुदायिक सेवाका सहायक प्रशासक पूर्ण थापा, नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका महामन्त्री बलवीर पुन, चौरजहारी उपशाखा सभापति तेजबहादुर बटाला, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोपाल रेग्मी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भिमराज ओली, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका अध्यक्ष मनिष खड्काले गर्नुभएको थियो । त्यस्तै दिवसको अवसरमा आज साँझ मुसिकोटमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवस आज देशैभरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा रुकुम पश्चिममा प्रभातफेरी, रक्तदान र दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।